
दाङ, ३ माघ । दाङ निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य, पूर्व सिचाइ मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले अबको आन्दोलन भनेको विकास, सुशासन र समृद्धिका लागि हुनुपर्ने बताएका छन् । विभिन्न चरणका राजनीतिक आन्दोलनले मुलुकमा संघात्मक संविधान जारी भएर संघीयताको अभ्यास गरिरहेको अवस्थामा अब सबैले समृद्धिका लागि एक जुट हुनुपर्ने बताएका छन् ।
‘पहिलेको हेकुली हेर्नुस्, अहिलेको दंगीशरण हेर्नुस्, हामीले सिचाई, पुल, पक्की सडक तथा नदीमा तटबन्ध समेत पाएका छौं, विकास निर्माणमा कुनै पनि राजनीतिक आग्रह पुर्वाग्रह छैन’, दंगीशरण गाउँपालिकाको नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गिरीले भने । तात्कालन बाह्र वर्षे शसस्त्र द्वन्द्वलाई तात्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याएको स्मरण गर्दै नेता गिरीले जनताको विकास निर्माणको आकांक्षालाई कुनै पनि आग्रह पुर्वाग्रह नराखी पुरा गर्न आफु प्रतिवद्ध रहेको पनि बताए । आफु संघीय संसदमा विधायकका रुपमा रहेको बताउदै उनले आफ्नो निर्वाचन क्षेत्र मात्र नभएर सिंगो मुलुकको समृद्धिका लागि संसदमा आवाज उठाउदै आएको पनि अभिव्यक्ति दिए ।
‘तपाईले मलाई निर्वाचित गरेर संसदमा पठाउनु भएको हो, तपाईको विकास र समृद्धिका चाहनालाई पुरा गर्न अहोरात्र संसदमा आवाज उठाइरहेको छु’, नेता गिरीले भने, ‘संसद नभएको बेला मात्र जिल्लामा आएर जनआकांक्षा बुझ्ने हो ।’ साथै उनले अब दाङ जिल्लालाई सडक र हवाइ यातायातले पनि जोड्न आफु अहोरात्र खटिरहेको पनि बताए ।
‘कसले के भने भन्ने मलाई थाहा छैन, तर क्षत विक्षत भएको चारलेन सडक बैशाख महिनाभित्रै पुनः ठेक्का प्रक्रियामा जाने छ’, नेता गिरीले भने । आफुहरुले संसदमा आवाज बुलन्द गरेपछि मात्र सरकारले क्षतविक्षत भएको सडक टालटुल गर्ने बजेट दिएर काम समेत भैसकेको बताउदै अब यो सडकलाई चारलेनका रुपमा स्तरवृद्धि गर्नुको कुनै विकल्प नभएको पनि बताए ।
सोहि अवसरमा बोल्दै उनले तुलसीपुरको टरिगाउँ विमानस्थललाई पनि पुनः डिपिआर गरेर ठुला विमान अवतरण गर्न सक्ने एयरपोर्टका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘अब हवाइ सेवा सन्चालनका लागि क्षेत्रीयताको कुनै विवाद छैन, टरिगाउँ विमानस्थलको स्तरोन्नतिको कुनै विकल्प नभएकाले पुनः डिपिआर बनाउने अन्तिम तयारी भैरहेको छ’, नेता गिरीले भने ।
टरिगाउँ विमानस्थलमा धावन मार्ग विस्तार गरी ठूला विमान चल्ने बनाउन आवश्यक जग्गा समेत रहेको उल्लेख गर्दै एयरपोर्टमा कुनै राजनीति नगर्न पनि उनले आग्रह गरे । त्यसैगरी सुकौराकोट दरबारलाई पनि पुर्नउत्थान गरी एउटा ऐतिहासिक पर्यटकिय क्षेत्रका रुपमा विस्तार गर्न पनि आफु लागिपरेको उनको अभिव्यक्ति थियो । साथै उनले कार्यक्रममा बोल्दै जनतालाई दिने कानुन सम्मत सेवाका लागि आम राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरु कुनै पनि आग्रह पुर्वाग्रहमा लाग्न नहुने पनि सुझाव दिए ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर क्षेत्री, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरी, समन्वय समिति सदस्य टोपाराम चौधरी, नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत खड्का, नेकपा एमाले दंगीशरण इकाई सभापति तथा वडा ७ का अध्यक्ष रेशम वली, वडा १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रेशम भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाका विभिन्न समुहका थारु नृत्य तथा सांगितिक प्रस्तुति देखाइएको थियो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका पूर्व प्रमुख प्रशाशकीय अधिकृतहरु निमराज भट्टराई, अमर बहादुर वली, खिम प्रसाद खड्का, चन्द्रकान्त पौडेल तथा भवन निर्माण कम्पनी शाह निर्माण सेवा बाँकेलाई पनि कदर पत्रले सम्मान गरिएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण टेक बहादुर खत्रीले गरेका थिए ।
नवनिर्मित भवन वि.सं २०७८ सालमा निर्माण सम्झौता भएको थियो । वि.सं २०८० असार ३० गते निर्माण सम्पन्न भएको थियो । भ्याट वाहेक ३ करोड ८५ लाख ८७ हजार ३ सय २३ रुपैयाको लागतमा सो भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । अपांगमैत्री संरचना, वालमैत्री, ज्येष्ठनागरिक मैत्री तथा लैंगिकमैत्री सहित तीन तले सो भवनमा सूचना प्रविधि जडित सुविधासम्पन्न कम्तिमा २५ कोठा सहित स्तरीय कार्यपालिका बैठक हल समेत रहेको छ ।
दंगीशरण गाउँपालिकाले नयाँ प्रशासकीय भवन निर्माण गरेसँगै संघीयता आए यता राप्ती गाउँपालिका, बंगलाचुली गाउँपालिका, बबई गाउँउपालिका, गढवा गाउँपालिका, लमही नगरपालिकाले नयाँ भवन पाएका छन् भने शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकाले भने नयाँ भवन निर्माणको प्रक्रियामा रहेका छन् ।