दाङ, १० दाङ । नेपाली कांग्रेसको सहमहामन्त्री किशोर सिंह राठौरले नेपाली कांग्रेस जस्तो लामो इतिहास भएको तीन तीन वटा आन्दोलनको नेतृत्व गरेको पार्टीले नसकेको काम अहिलेका नयाँ पार्टीले गर्न नसक्ने दाबी गरे । अहिलेका नयाँ पार्टीहरूमा कुनै इतिहास नभएको र वर्तमानमा पनि टुंगो र भविष्य नभएको हुँदा उनीहरूले गफ दिएर देश नबन्ने दाबी गरे ।
देशलाई जोगाउनलाई कांग्रेस बलियो हुन जरुरी रहेको पनि बताए । अहिलेको व्यवस्थालाई जोगाउन पनि कांग्रेस बलियो हुनु पर्ने भन्दै उनले विकासका लागि पनि बलियो बनाउन जरुरी रहेको बताए । उनले कम्युनिष्टहरू विकासवादी नभएको समेत बताए । उनले भने,‘ कम्युनिष्टहरूलाई हामीले भर्खरै विकास गर्नुपर्छ, भन्ने बारेमा ल्याउँदैछौँ । राजनीतिक गर्नेहरूले विकास गर्नुपर्छ, भनेर लोकतन्त्रवादी, विकासवादी बनाउँदैछौँ । ’उनले भने,‘ हिजो माओवादीहरूले हामी आएपछि सबै कुरा हुन्छ, भनेका थिए । तर, अहिले माओवादी आउँदा के भयो ? अहिले स्वतन्त्र पार्टीले हामी आए सबै हुन्छ, भन्ने गरेका छन् । देश बनाउनलाई पैसा चाहिन्छ । पैसा कहाँबाट आउँछ, पैसा आउने हाम्रो स्रोत के छ ? हामीसँग समुद्र छैन्, हामीसँग भएको पानी हो ? त्यसबाट विद्युत निकाल्ने हो ? यसैगरी हिजोका दिनहरूमा कम्युनिष्टहरूले विद्युतमा पनि अगाडि बढ्न नसकेको बताए ।
२०५२ सालमा अरुण तेस्रो जलविद्युत आयोजना ल्याउन खोज्दा एमालेले रोकेको भन्दै उनले अहिले २५ वर्षपछि अरुण तेस्रो शुरु भएको पनि उल्लेख गरे । विद्युत उत्पादन गरेर हामीले हाम्रो देशलाई अगाडि बढाउनु पर्ने परिस्थितिमा त्यो कुरा शुरुमा नहुँदा अहिले यस्तो अवस्था आएको बताए । देश बनाउनको लागि विद्युत, पर्यटन र पानीको विकास गर्न सकेमा मात्र हामीले चाहेको देश बनाउन सकिन उनको धारण थियो । यस्तै उनले अहिले देशमा हरेक क्षेत्रमा वितृष्णाका कुराहरू आइरहेको भन्दै राम्रो भन्दा पनि नराम्रा कुराहरू भइरहेको हुँदा त्यो सबैले बन्द गर्नु पर्ने बताए ।
उनले भने,‘ यो देश हाम्रो हो । हामीले नै यो देश बनाउनु पर्छ, तर, अहिलेको नयाँ पार्टी जस्तो हामी होइन् । हामीले नागरिकता त्यागेर भागेका नागरिकहरू होइनौँ ।’ उनले हिजोका दिनहरूमा सारा अवसरहरू त्यागेर नै यो देशमा लोकतन्त्र ल्याउनु पर्छ, जनतालाई अधिकार सम्पन्न बनाउनु पर्छ, भनेर नै जीवन नै देश र जनताको लागि समर्पित गरेर लागेको पार्टीका कार्यकर्ता भएको समेत बताए । देशमा अहिले भइरहेको व्यवस्था ल्याउनको लागि ६० वर्ष संघर्ष गरेको भन्दै नेपाली कांग्रेसले २००७ सालदेखि लागेको समेत उनको भनाइ छ । उनले भने,‘ ६० वर्ष संघर्ष पछि अहिलेको व्यवस्था आएको हो । यसले तीन तहको सरकारको परिकल्पना गरेको छ । महिला, दलित, थारु, आदिवासी जनजाति लगायतलाई अधिकार दिएको छ । हरेक हिसाबले राम्रो संविधान बनेको छ ।’
यसैगरी उनले अहिलेको व्यवस्थामा केही कमीकमजोरी हुन सक्ने भन्दै संविधान भनेको परिवर्तनशील दस्तावेज भएको हुँदा आवश्यकता अनुसार परिवर्तन गर्दै जान सकिने पनि प्रष्ट पारे । यस्तै उनले हिजो नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाइ बहुमत ल्याएर संविधान भित्र भएका कमीकमजोरी हटाउने अवसर पाएको भएयता पनि त्यो हुन नसकेपछि यो व्यवस्था नै अफल भए जस्तो हामीहरूको सोच गएको जस्तो आफूलाई लाग्ने बताए । उनले लोकतान्त्रिक व्यवस्था भनेको संसारको उत्कृष्ट व्यवस्था भएको समेत दाबी गरे । यसलाई कसरी राम्रो बनाउने भन्ने कुरा अहिलेको चुनौतीको विषय बनेको उनको भनाइ छ ।
एकथरी मान्छे लागेर मात्र यो देश नबन्ने भन्दै उनले सबै लाग्नु पर्ने समेत बताए । २०४६ सालको आन्दोलनपछि हामीले ल्याएको खुला अर्थनीतिले आज देश यहाँसम्म पुगेको उनको भनाइ छ । यस्तै उनले अहिलेको प्रविधिको युगमा हामीले युरोप, अमेरिका खोजी रहेको भन्दै नेपाल युरोप, अमेरिका ५० वर्षपछि पनि हुन नसक्ने उल्लेख गरे । उनले १० वर्षे जनयुद्धका कारण हामीले लिएको विकासको गति अवरोध भएको र सङ्क्रमणकाल जस्ता परिस्थितिले गर्दा जुन गतिमा विकास हुनु पर्ने थियो, त्यो नभएको पनि बताए । यस्तै फरक प्रसङ्गमा बोल्दै उनले बहुदलीय व्यवस्था पछि ल्याएको शिक्षा नीतिले युरोप, अमेरिकाको जस्तो शिक्षा दिएका कारण अहिले धेरै विदेश जान थालेको अवस्थामा यसमा धेरै चिन्ता गर्नु पर्ने अवस्था नभएको समेत बताए ।
यस्तै उनले एक ठाउँबाट अर्को ठाउँ जाने क्रम संसारभर चलिरहेको भन्दै त्यो कसैले रोकेर पनि नरोकिने बताए । उनले अहिले हामीले नैतिकता र इमान्दारिताको ठुलो खडेरी परेको पनि बताए । सरकारले छात्रवृत्ति दिएर पढाएका विद्यार्थीहरूले पनि देश छाडेको भन्दै अहिले नैतिकताको खडेरी परेको बताए । उनले भने,‘ तपाईँहरू जे कारणले विदेश जानु भएको छ । त्यसमा हामीलाई केही छैन् । तर, पैसा कमाएर आफू स्थापित भएपछि आफू जन्मेको ठाउँमा केही गरेर देखाउनु होस् । दुई जनालाई रोजगारी दिएर देखाउनु होस्, त्यसपछि कुरा गरौँला । भगौडाहरूले हामीलाई बिहान उठेदेखि राति सुत्ने बेलासम्म गाली गर्ने अधिकार छैन् ।’
आफूहरूले यो देश र जनताको लागि यो जीवन समर्पित गरेको भन्दै उनले आफ्नो जीवन समर्पित गर्नु भन्दा ठुलो कुरा अरु केही नभएको पनि बताए । यस्तै उनले हिजो द्धण्द्धकालले गर्दा यहाँका युवाहरूलाई रोजगारी दिन नसकेर खाडी पठाएको हुँदा ति युवाहरूलाई स्वदेशमा आए कसरी व्यवसाय गराउने भन्ने कुरा ठुलो चुनौति रहेको पनि बताए ।