
दाङ, १७ माघ । नेपाली कांग्रेसका पूर्व उपसभापति एवं नेता बिमलेन्द्र निधिले समुदायमै पुगेर जनताका कुरा सुन्नका लागि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन भएको बताए ।
नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्री समेत रहेका उनले अरु बेला नेताको भाषण सुन्ने जनतासँग अहिले कांग्रेसले गुनासाहरू सुन्नका लागि अभियान थालेको बताए ।
उनले जनताकै घरदैलोमा पुगेर कुरा सुन्ने अभियान भएको बताए । उनले अभियानका क्रममा समुदायमा तीन तहका सरकारले गरेका विकास निर्माण गतिविधि, जनताका समस्या बुझ्नेदेखि समाधानका लागि पहल गर्ने, पार्टीप्रतिको जनताको धारणा बुझ्ने र जनताको पार्टी कांग्रेस भएको विश्वास दिलाउनका लागि लागिएको बताए ।
उनले यो अभियान आगामी २०८४ सालमा हुने निर्वाचनलाई केन्द्रित गरेर सञ्चालन भएकाले इमानदार रुपमा सबै नेता तथा कार्यकर्ताहरू लाग्नुपर्ने बताए । पहिलेको तुलनामा देशमा धेरै विकास निर्माणका काम भएपनि जनतामा केही भएको छैन, भन्ने निराशा भएको भन्दै त्यसलाई हटाउनुपर्ने उनको भनाइ थियो ।
अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरे अनुसार काम हुन नसकेपनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्ने बताए । ‘अहिलेको गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो’, उनले भने,‘ त्यसैले गठबन्धनको विरोध गर्ने होइन, कसरी आगामी निर्वाचनसम्म जान सकिन्छ, त्यसतर्फ लाग्ने हो ।’ समुदायमा कांग्रेस अभियानअन्तर्गत यो कुरा जनतालाई बुझाउनुपर्ने उनले बताए ।उनले संघीयताको मूल मर्म अनुसार प्रदेशले आफ्नो पूर्ण अधिकार प्रयोग गर्न पाउनुपर्ने भएपनि नपाएको बताए ।
त्यसका लागि प्रदेश सरकार मातहतमा प्रदेश प्रहरी, कर्मचारी संगठन निर्माणसँगै कामका लागि केन्द्र धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए । उनले प्रदेशलाई अधिकार सम्पन्न गराउँदै विकास निर्माणका लागि केन्द्र ताक्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि संघीयता ल्याएपनि पूर्ण अधिकार नदिँदा संघीयता कार्यान्वयनमा समस्या भएको बताए । प्रहरी र कर्मचारीहरू प्रदेश मातहतमा नआउँदासम्म संघीयता पूर्ण कार्यान्वयनमा आउन नसक्ने बताए । नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।