२०८१ चैत्र १० गते आइतवार | 2025 March 23rd Sunday

बंगलाचुलीमा दुई दिने आधारभूत पत्रकारिता तालिमको समापन

दाङ, २० माघ । नेपाल प्रेस युनियन दाङले बंगलाचुलीमा आयोजना गरेको दुई दिने आधारभूत पत्रकारिता तालिमको शनिबार समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको तालिमको शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो । समापन कार्यक्रम नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीको प्रमुख आतिथ्यमा भएको हो ।  कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष जिसीले तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

उनले प्रशिक्षार्थीलाई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नु नै पत्रकारिताको मूल धर्म हुने बताएका थिए ।  समाज परिवर्तनमा सञ्चार माध्यमले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उपाध्यक्ष जिसीले  समाजमा हुने विकृति विसंगतिलाई सुधार गरी सभ्य समाज निर्माण  गर्न सञ्चार माध्यमको ठूलो योगदान रहने हुँदा आफ्नो पेशा प्रति जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरेका थिए । कार्यक्रममा  गाउँपालिका – १ का वडाध्यक्ष विष्णु कँवर , वडा नम्बर ६ का अध्यक्ष डोम बहादुर केसी, प्रशिक्षार्थी सिर्जना पुलामी, विक्रमकुमार डाँगी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

तालिममा सहभागीहरूलाई प्रेस युनियनका उपमहासचिव सुलोचना गौतम, जिल्ला अध्यक्ष नारायण खड्का, उपाध्यक्ष किरण विक्रम शाह, पार्वती बस्नेत, सचिव अमर क्षितिज भण्डारी, कोषाध्यक्ष लिलाधर वली लगायतले प्रशिक्षण दिएका थिए । नेपाल प्रेस युनियन दाङका कोषाध्यक्ष लिलाधर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रमको सहजिकरण सचिव अमर क्षितिज भण्डारीले गरेका थिए ।  तालिममा २६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।  युनियनले भविष्यमा यस्ता अभियानहरू सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस