
दाङ, २३ माघ । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियानबाट आएका सुझाबलाई लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समुदायबाट आएका सुझाब र गुनासो लिएर अभियानमा खटिएको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन पत्र मंगलबार प्रदेश कार्यालय राप्ती उपत्यका भालुबाङमा बुझाएको हो । ज्ञापन पत्रमा बाटोघाटो, सिँचाइ , खानेपानी, रोजगारी, गुणस्तरीय शिक्षा तथा सुशासनको ब्यवस्था, रुकुम पूर्वमा द्वन्द्वकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको, बैंकबाट लुटिएका सुन बापत क्षतिपुर्ति प्राप्त नभएकोले तत्काल ती समस्या समाधान गरियोस, पूर्वी रुकुममा भरपर्दो इन्टरनेटको ब्यवस्था गरियोस, रोजगारीको अभावमा ठुलो सङ्ख्यामा युवाहरू विदेशी रहेका छन् त्यसले उद्यमशीलता विकास गर्न रोजगारमूलक तालिम तथा निर्ब्याजी ऋण प्रदान गर्नुका साथै उत्पादित सामाग्री बजार व्यवस्थापन गरियोस भन्ने माग गरिएको छ ।
त्यस्तै, अर्घाखाँचीका किसानको चिस्यान केन्द्रमा राखिएको झण्डै १ करोड रुपैयाँ बराबरको सुन्तला कुहिएकोले मर्कामा परेका किसानहरूलाई क्षतिपुर्तिको ब्यवस्था गर्ने, प्यूठान अर्घाखाँची लगायत जिल्लामा शुरु गरिएको एक घर एक धारा अभियान अन्तर्गत सरकारी, स्थानीय समुदायले पुरा गरेको कामको अझै भुक्तानी हुन नसकेकाले तत्काल भुक्तानी गरियोस्, किसानका लागि समयमै मलखाद, बीउबिजनको व्यवस्थाको माग गरिएको छ । भने सिँचाइको समस्या रहेको जिल्लाहरूमा सिँचाइको ब्यवस्था गरियोस्, लुम्बिनी प्रदेश अन्तर्गत पहाडी जिल्लाहरूमा सञ्चालित आधिकांश क्याम्पस भवनहरू जीर्ण अवस्थामा रहेकाले तिनको मर्मत सम्भार र पुननिर्माणका साथै प्राध्यापकहरूको तलबको सुनिश्चता गरियोस्, पाल्पाको भगवती मन्दिर , रानीमहल लगायतका पर्यटकीय महत्वका केन्द्रहरूको संरक्षण गरि प्रचार प्रसार गरियोस भन्ने माग नेपाली कांग्रेसले मुख्यमन्त्री चौधरीसँग माग गरेको छ ।
मुख्यमन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेशको समुदायमा कांग्रेस अभियानका संयोजक डाक्टर डिना सङ्ग्रौलाले बुझाएको ज्ञापनपत्रमा महिला हिंसा, बालविवाह तथा दाइजोप्रथालाई नियन्त्रण गरियोस्, जंगली जनावरहरू नीलगाई, बँदेल नियन्त्रण गरियोस, जीर्ण सडकहरूको मर्मत सम्भार गरियोस्, लुम्बिनी प्रदेशमा सञ्चालित मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिइयोस्, प्रदेश सरकारले साना तथा मझौला उद्यमीहरूलाई प्रोत्साहन गर्नुका साथै बिना झन्झट ब्यापार व्यवसाय गर्ने वातावरण निर्माण गरियोस्, गुल्मीको मुसीकोट नगरपालिकामा निर्माणाधीन पुल पटक पटक भत्किएर खोलाले बगाएकाले त्यस पुलको पुर्न निर्माणका लागि सुनिश्चित गरियोस्, प्रदेश निजामती नियमावली र स्थानीय सरकार अन्तर्गत स्थानीय सेवा ऐन तत्काल ल्याउन अनुरोध गरिएको छ ।
क्रमागत बजेटमा बजेट सुनिश्चता गरियोस लगायत १४ वटा बुँदा सहितको ज्ञापन पत्र मुख्यमन्त्री चौधरीलाई बुझाउन समुदायमा कांग्रेस अभियान अन्तर्गत लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, अर्घाखाँची, रुकुम पूर्वी, कपिलवस्तु, नवलपरासी, प्यूठान र दाङ जिल्लाको जिम्मेवारी पाउनुभएका कांग्रेस केन्द्रीय सदस्य डाक्टर डिना सङ्ग्रौलाको नेतृत्वमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ, महामन्त्री बिक्रम खनाल, सहमहामन्त्री विष्णु खनाल र सहमहामन्त्री निमा गिरी रहेकी थिइन् । ज्ञापन पत्र बुझ्दै पार्टी सञ्चालन गरेको अभियानबाट नागरिकको भावना र आवश्यकताको प्राथमिकतालाई समेटेर बुझेको ज्ञापनलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए । साथै प्रदेश तहबाट गरिने सम्बोधनलाई प्राथमिकतामा राख्ने र संघीय सरकारबाट गर्नुपर्ने सवाललाई सिफारिस गर्ने चौधरीले बताए ।