२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

बबई गाउँपालिकामा नव निर्मित १५ सैया अस्पतालमा गुणस्तहिन काम ( भिडिओ सहित )

दाङ, २४ माघ । बबई गाउँपालिकाको ३ हंसपुरमा रहेको १५ सैयाको अस्पताल निर्माण सम्पन्न भएको छ । तर, सञ्चालनमा आउने  अहिलेसम्म सुरसार नै छैन् । गत साउन निर्माण सम्पन्न भएर गाउँपालिकाले बुझेको अस्पताल निर्माण कार्य गुणस्तरहीन भएको स्थानीयहरूको भनाइ छ ।    अस्पतालको भवन निर्माणको जिम्मा प्रतिष्ठा, क्षितिज, ज्ञानज्योति जेभी काठमाडौँले निर्माण गरेको थियो ।

निर्माण कम्पनीले अस्पताल निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण समेत गरिसकेको लामो समय भएको छ । तर, अहिले अस्पतालको  जेनेटर राख्ने संरचना र  आगो नियन्त्रणको लागि बनाएको संरचनाको प्लाष्टर उम्किएपछि स्थानीयहरूले गुणस्तरहित काम भएको बताएका छन्  ।  स्थानीय लक्ष्मण खत्रीले बाहिरबाट  हेर्दा भवन राम्रो देखिएयता पनि दुई वटा संरचनाको प्लास्टर उम्किएको र मुख्य भवन पनि चर्किएका देख्दा  काम गुणस्तरीय नभएको बताए ।

उनले भने,‘ हामीले यो अस्पताल सबै भन्दा राम्रो र गुणस्तरयुक्त बनेको होला जस्तो लागेको थियो । देख्नलाई राम्रो बनाएको रहेछ । तर, यि दुई संरचनाको प्लास्टर सबै उम्किएपछि शंका गर्न ठाउँ रहेको छ । यो  सबै निर्माण गर्ने ठेकेदार एउटै हो ? १५ सैयाको भवन पनि यस्तै हुनसक्छ ।’  उनका अनुसार तोकिएको समय भन्दा अगाडि काम सम्पन्न गरेको र राम्रो काम गरेको हुँदा निर्माण कम्पनीलाई पुरस्कृत गरेर पठाएको भन्ने कुरा आएको थियो । तर, अहिले यो काम हेर्दा पुरस्कृत नभइ दण्ड गर्नुपर्ने अवस्था देखिएका उनको भनाइ छ ।

गुणस्तरहीन काम हुँदापनि स्थानीय सरकारले ठेकेदारलाई सम्मान गर्नु स्थानीय सरकार दोषी रहेको उनले बताए । उनले भने,‘ भवन निर्माणको क्रममा गाउँपालिकाबाट इन्जिनियरहरू आएका थिए, होला । यस्तो गुणस्तरहीन काम भएको उनीहरूले किन देखेनन्, भन्ने मेरो प्रश्न हो ? उनले बाहिरका साना भवन मात्र नभइ ठुलो भवनका भित्ताहरू पनि चर्किएको समेत बताए । यस्तै अर्का स्थानीय बुद्धिराज राना क्षेत्रीले पनि अस्पतालको काम गुणस्तरहीन भएको बताए । उनले अस्पतालको भवन निर्माण भइसक्दा पनि अहिलेसम्म सञ्चालनमा आउन नसक्नु दुखद कुरा भएको बताए । गाउँमा बिरामी भएपनि बोकेर लैजानु पर्ने अवस्था रहेको भन्दै गाउँमा बनेको अस्पताल सञ्चालनमा नआउनु निकै  दुखद कुरा भएको भन्दै भवन हेरेर चित्त बुझाउने गरेको बताए । अहिले प्लास्टर गरेको भित्ताहरू सबै उम्किएर धुलो आउने भन्दै उनले यसमा सबै भन्दा प्रमुख दोषी निर्माण कम्पनी भएको बताए ।

यस्तै उनले भवन निर्माण हुँदा गाउँपालिकाका प्राविधिकहरूले हेर्नु  पर्ने भएयता पनि उनीहरूले के हेरेर पास गरेको भन्दै प्रश्न गरे ? अस्पताल भवन रङरोगनले राम्रो देखियता पनि भित्र खोक्रो रहेको उनले बताए । उनका अनुसार भित्तामा हान्दा बालुवाको खस्ने गरेको छ । अस्पताल निर्माणको सम्झौता मिति भन्दा अगावै सम्पन्न भएकोले  निर्माण कम्पनीलाई सम्मान समेत गरिएको थियो  । २०७८ बैशाख १५ गते देखी निर्माण सुरु भएको अस्पतालको निर्माणकार्य २०८० कार्तिक १५ सम्ममा सम्पन्न गरि सक्नु पर्ने भएपनि गत साउन महिना निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरण गरेको थियो, भने निर्माण कम्पनीले १२ करोड ४५ लाख ९४ हजार १९४ रुपैयाँ भुक्तानी लिएको छ ।

अस्पतालको भवन निर्माण गुणस्तरयुक्त छ : इन्जिनियर देवकोटा

          गाउँपालिकामा कार्यरत इन्जिनियर अनुसार अस्पतालको मुख्य भवनमा नभइ, जेनेटर र आगो नियन्त्रणको लागि बनाएको पानी मोटरको लागि बनाएको संरचनामा समस्या आएको हो । यस्तै उनले निर्माण व्यवसायीले निर्माण सम्पन्न गरेको भएयता पनि एक वर्षभित्र कुनै समस्या आएको खण्डमा मर्मत गर्ने गरी ६० लाख धरौटी रकम राखेको समेत बताए ।  उनले भने,‘ हामीले भवनको  संरचनाहरू बनाउँदा मापदण्ड अनुसार नै बनाएको छौँ , ल्याब टेष्ट, अनुगमन लगायत गरेर मात्र भुक्तानी दिएका थियौँ । ’

अहिले प्लास्टर गएका संरचनाहरूको मूल्यांकन पनि नगरेको र घटाएर भुक्तानी गरेको  उनको भनाइ छ ।  उनले भने,‘ गाउँपालिका भित्र ४ सय बढि योजनाहरू हुन्छन् । सबै योजनाहरू हामीले हेर्नु पर्छ । २४ सै घण्टा निर्माण भएको   ठाउँमा पनि पुग्न सकिदैन । हामीले निर्माणको जिम्मा लिएको व्यवसायी र मिस्त्रीलाई  मापदण्ड अनुसार काम गर्न निर्देशन दिएका हुन्छौँ ।’

यस्तै गाउँपालिकाका सव ओभरसियर हिरालाल वलीले अस्पताल निर्माणको आफू र अर्का एक जनाले अनुगमन गरेको बताए । उनका अनुसार पुरै भवनको प्लास्टर भएको र भुक्तानी गर्ने समय साउनको अन्तिम भएको हुँदा पनि आफूहरूले कमजोर भएको ठाउँको पैसा घटाएर भुक्तानी दिइएको थियो । प्लास्टर आइटमको करिब एक लाख ६० हजार रकम घटाएर भुक्तानी दिइएको उनको भनाइ छ । यस्तै उनले अस्पतालको मुख्य भवनमा कुनै पनि कमजोरी नभएको समेत दाबी गरे ।

ल्याब परिक्षण गर्दा रिपोर्ट ठिक देखिएपछि भुक्तानी दियौँ : अध्यक्ष खत्री क्षेत्री

            बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रले आफूहरूले निर्माण सम्पन्न भएको अस्पताल बुझ्ने बेला ल्याब परिक्षण गर्दा राम्रो देखिएपछि  भुक्तानी दिएको बताए । उनले भने,‘ भवनको इस्टमेट अनुसार हाम्रो प्राविधिकले  कति हरे त्यो आफ्नो ठाउँमा छ । हामीले भवन बुझ्ने बेला ल्याब परिक्षण गर्दा ठिक भएको भन्ने रिपोर्ट छ ।

 प्राविधिको इस्टमेट अनुसार काम भयो । अनुगमन प्रतिवेदन प्रतिवेदन अनुसार नै हामीले भुक्तानी दिएका हौँ ।’ काम सम्पन्न भयो, भन्ने भएपछि आफूहरूले एक कार्यक्रमको आयोजना गरी निर्माण कम्पनीसँग भवन बुझेको समेत उनको भनाइ छ । उनका अनुसार अनुगमन र प्राविधिकको पाटो अनुसार भवनको भुक्तानी दिइएको थियो । उनले मापदण्ड अनुसार भएका संरचनाहरू प्रक्रियामा ल्याउन नहुने समेत बताए ।

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस