दाङ, २६ माघ । नेपाली सांगितिक क्षेत्रका चर्चित गायक पुस्कल शर्माले नेपाली गित संगितमा मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार तुलसीपुरमा गायक शर्मा सँग गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन ।
चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा गायक शर्माले विशेषगरी लोक गित र संगितमा मौलिकता हराउँदै गएको बताएका हुन । पछिल्लो समय छोटो समयमा नै चर्चामा आउने उद्देश्यले गितमा अपाच्य शब्द प्रयोग गर्दा यसले समाजमा विकृति फैलाउँदै गएको उनको भनाई थियो ।
अपाच्य शब्द र भद्दा दृश्यका कारण पाएको चर्चा धेरै नटिक्ने भन्दै गित संगितमा स्थापित हुन शब्दमा मौलिकता र सृजनसिलता हुनुपर्ने उनको धारणा थियो । उनले भने – “मैले गायन यात्रा सुरु गर्दा सुख दु:ख र वेदनाका गितहरुमा मौलिकता झल्कन्थ्यो, अहिले हराउँदै गएको महसुस भएको छ ।” त्यस्तै आगामी दिनमा दर्शक श्रोताको अझै मन जित्ने गितहरु ल्याउने बताएका हुन ।
साथै उनले लोक गित संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने बताएका हुन । गित संगित सँगै आफ्नो रुचि चलचित्रमा समेत भएकोले आफुलाई उपयुक्त लागेको कथावस्तु भएको चलचित्र बाट अफर आए अब अभिनेताको भुमिकामा समेत देखिने उनले बताए । हालसम्म केही चलचित्र बाट अफर आएपनि आफुलाई कथावस्तु मन नपरेका कारण अघि नबढेको उनको भनाई थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य एकराज भण्डारीले गरेका थिए ।