२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

१५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा समुहबाट केशवजंग डाँगीको उम्मेदवारी

सल्यान, ८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा युवा नेतृत्व र पुस्तान्तरणको बहससँगै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने क्रम तीव्र बनेको छ । यसै क्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) सल्यानका जिल्ला सभापति केशवजंग डागिले ३५ वर्ष मुनिको युवा क्लस्टर बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदका लागी उम्मेदवारी दिएका छन । डाँगीले ” युवा उर्जा, वैचारिक निष्ठा र सबल संगठन समृद्ध काङ्ग्रेस निर्माणको बलियो आधार” भन्ने नारा सहित आफ्नो उम्मेदवारी अघि सारेका छन् ।

विद्यार्थी तथा युवा राजनीतिमा सक्रिय डाँगीले संगठन विस्तार, विद्यार्थी हकहित तथा सामाजिक गतिविधिमा युवाको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राख्दै आएको समेत बताएका छन् । युवालाई राजनीतिसँगै खेलकुद र सामाजिक क्षेत्रमा समेत जोड्ने उद्देश्यले उनले गत वर्ष ‘जय नेपाल कप’ आयोजना गरेका थिए । स्थानीयस्तरमा युवाको खेलकुदप्रतिको रुचि बढाउने र प्रतिभावान युवालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

डाँगीले युवा पुस्ताका समस्या, सम्भावना र आवश्यकतालाई पार्टीको नीति तथा नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् ।

उनले भनेका छन्, “पार्टीलाई वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सुदृढ बनाउनु आजको आवश्यकता हो । युवाका मुद्दालाई पार्टीको केन्द्रीय तहसम्म सशक्त रूपमा पुर्‍याउन र समृद्ध कांग्रेस निर्माणको बलियो जग बसाल्नका लागि मैले उम्मेदवारी दिएको हुँ ।”

नेपाली कांग्रेसको संशोधित विधानअनुसार १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवाको केन्द्रीय महाधिवेशन प्रतिनिधित्व सुनिश्चित गरिएको छ । देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कम्तीमा तीन तीन जना ३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गरिएको छ ।

यही व्यवस्थाअन्तर्गत डाँगीले पनि युवा क्लस्टरबाट प्रतिनिधित्वका लागि आफ्नो उम्मेदवारी अघि सारेका हुन् । विद्यार्थी राजनीति, संगठन निर्माण तथा सामाजिक र खेलकुद गतिविधिमा सक्रिय रहँदै आएका डाँगीको उम्मेदवारीले सल्यान कांग्रेसभित्र युवा प्रतिनिधित्वको विषयलाई थप चर्चामा ल्याएको छ ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस