२०८१ मङ्सिर २० गते बिहिवार | 2024 December 5th Thursday

परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुने बेला आएको छः प्रधानमन्त्री

काठमाडौं, १ फागुन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन । 

२९ औं जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक/सामाजिक क्षेत्रका अगुवाहरुलाई स्वागत गर्दै उनले परिवर्तनकारीहरुको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताएका हुन ।

‘अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ’– प्रधानमन्त्री प्रचण्डले भने– ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजावाद निर्माणको धारको नेतृत्वमा हामीले गरेका छौं भने यसलाई उल्ट्याउन खोज्नेहरु पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका छन्, बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्ध जोगाउन सबै परिवर्तनकारीहरु एक ठाउँमा आउने बेला भएको छ ।’

विगतमा माओवादी आन्दोलनमा रहेकाहरुबीच संस्थागतरुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै उहाँले योसँगसँगै व्यक्तिगतरुपमा पनि क्रान्तिकारीहरु ध्रुवीकृत भइरहेको बताएका हुन । जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रवीकरणमा सामेल हुनुपर्नेमा पनि उनले जोड दिएका हुन । 

ऐतहासिक दिनमा पार्टीमा समाहित भएकोमा धन्यवाद दिंदै अध्यक्ष प्रचण्डले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गरेका हुन । सो क्रममा उनले पार्टी विधान र दस्तावेजहरुमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गरेका हुन । 

सो क्रममा लामो विप्लव नेकपाको नेतृत्वमा रहिसक्नुभएका दाङका युवा नेता ईश्वरी पाण्डे, सोही पार्टीमा रहेका तुलसीपुर खानेपानी संस्थाका पूर्वअध्यक्ष खेमराज ओली, पर्यावरण अभियन्ता गिद्ध संरक्षण राष्ट्रिय सञ्जालका अध्यक्ष डिल्लीबहादुर सावत, एमालेमा रहेका अगुवा व्यवसायी युवराज केसी र शैक्षिक अभियन्ता हिमाल डाँगीलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन ।

त्यस्तै बर्दियाका युवा नेता एवं व्यवसायी मोहनलाल चौधरी पनि माओवादी केन्द्रमा प्रवेश गरेका हुन । नयाँ शक्तिको जिल्ला अध्यक्षहुँदै नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसेका चौधरी होटल संघ बर्दियाका अध्यक्ष पनि हुन ।

कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेताहरु पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मास्की, सुरेश पन्त, शेषुराम भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस