
काठमाडौं, ५ फागुन । नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको छ । कुशल भुर्तेलको उत्कृष्ट बलिङ र ब्याटिङको मद्दतमा आइसिसी विश्वकप लिग २ क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा नामिवियासँग ४ विकेटले हारेको नेपालले १५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । अन्तिममा १ रन चाहिएको बेला अनिलले चौका हानेपछि नेपालले १ सय ४१ रन बनाएको थियो । नेपालको जितमा भुर्तेलको ४ विकेट र उनले सुरुवातमा हानेको २८ रन महत्वपूर्ण रह्यो । भुर्तेलले सुरुवातमै चौका र छक्काको वर्षा गर्दै ११ बलमा २८ रन बनाए ।
उनी किङ्माको बलमा लिडेद्धारा क्याच भए । यसबाहेक नेपाली खेलाडी अनिल साह र आशिफ शेखले अर्धशतक पूरा गरे । नट आउट रहेका साहले ३६ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ५७ रन हाने । यस्तै उनलाई साथ दिएका आशिफले पनि नटआउट ४५ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५४ रन जोडे । यसअघि किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गरपछि ब्याटिङ गरेको पाहुना टोली नेदरल्याण्ड्सले ३९ ओभरमा सबै खेलाडी गुमाएर १ सय ३७ रन बनाएको थियो । नेदरल्याण्ड्सलाई सस्तैमा रोक्न नेपाली खेलाडी कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए ।
७ ओभर बलिङ गरेका उनले २० रन खर्चिएर ४ विकेट लिएका थिए । यस्तै २ विकेट ललित राजवंशीले लिए भने सोमपाल कामी र रोहित पौडेलले एक–एक विकेट लिए । ललितले १० ओभरमा ३२ रन खर्चिएका थिए । सोमपालले ७ ओभरमा २ मेडेन राखेर २४ रन दिए। कप्तान रोहित पौडेलले १ ओभरमा ३ रन खर्चिएर १ विकेट लिन सफल भए । नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डसले सर्वाधिक ३३ रन जोडे । ४९ बलमा ३३ रन जोडेका कप्तान स्कट भुर्तेलको बलमा एलबिडब्लु भएका थिए । यस्तै डच खेलाडी बास डि लिडे २७ रन तथा सिब्राण्डले २३ रनको योगदान दिए । अन्य ब्याट्स्म्यानहरुको प्रदर्शन त्यत्ति उत्कृष्ट हुन सकेन ।