
दाङ, ८ फागुन । दंगीशरण गाउँपालिकाका केही कर्मचारीहरूले कारण विना लाई राजनीतिक आस्थाका आधारमा सरुवा तथा पदस्थापना गरेको भन्दै विरोध जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन ( निजामती ) मा आवद्ध कर्मचारीहरूले यही फागुन ४ गते कार्यालय समयलाई छली कर्मचारीहरूसँग कुनै पनि प्रकारको छलफल नगरी गरिएको शाखा परिवर्तन वा जिम्मेवारी परिवर्तन सम्बन्धी निर्णयको विरोध जनाउँदै बदर गर्न उनीहरूले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई १२ बुदे ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले कारण विना राजनीतिक आस्थाका आधारमा भएका कर्मचारी सरुवा कारबाही खारेज गरेर कार्यालय मै काम गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।
राजनीतिक आस्था आधारमा एकै आर्थिक वर्षमा ५ / ५ पटक कामकाजको जिम्मेवारी फेरि कर्मचारीको मनोबल गिराउने र मानसिक तनाव दिने जस्ता कार्य बन्द गर्न समेत ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।यस्तै नेपाल निजामती कर्मचारी संगठन दंगीशरण गाउँपालिका कमिटीका अध्यक्ष लेखनाथ आचार्यले कर्मचारीहरूको जिम्मेवारी हेरफेर गर्ने एउटा समय हुने भएयता पनि गाउँपालिकामा राजनीतिक आस्थाका कारण अहिले कर्मचारीहरूको सरुवा तथा पदस्थापना भएको बताए । उनले भने,‘ असार मसान्तमा काम सकेपछि कुन कर्मचारीलाई कताको जिम्मेवारी दिने भन्ने कुरा हुन्छ । अहिले म गाउँपालिकामा योजना शाखाको प्रमुखमा थिए । अहिले कामको चाप निकै छ, अहिले कर्मचारीको जिम्मेवारी हेरफेर गर्न समय अनुकुल भएन र हदबन्दी अनुसार पनि भएन ।’
उनले क्षमता र विज्ञ अनुसारको कर्मचारीहरू भन्दा पनि राजनीतिक आस्थाका कारण जिम्मेवारी हेरफेर गरेको भन्दै आपत्ति जनाए । उनका अनुसार नियम अनुसार जिम्मेवारी हेरफेर गर्दा आफूहरूलाई कुनै पनि आपत्ति हुँदैन । तर, राजनीतिक आस्थाका कारण जिम्मेवारी हेरफेर वा सरुवा भएको हुँदा त्यो बदर हुनु पर्ने भन्दै हामीले प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका छौँ । उनले भने,‘ म प्रशासनको कर्मचारी हुँ ! मलाई राजश्व शाखाको जिम्मेवारी दिएको छ । जसले गर्दा सेवा प्रवाह राम्रो हुँदैन, भन्ने मेरो भनाइ हो । प्रशासनको कर्मचारीलाई प्रशासनमै राख्नु पर्छ । जुन शाखामा विज्ञ छ, त्यसैमा काम गर्ने दिने हो ?’ यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन ( निजामती ) गाउँपालिका कमिटीका अध्यक्ष किरण पोख्रेलका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को २ ( ए ) अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई प्रशासकीय नियन्त्रण गर्ने अधिकार दिएको छ । तर, गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतले भन्दा पनि आस्थाको आधारमा गाउँपालिकाको आदेश अनुसार जिम्मेवारी हेरफेर गर्नु नै आफूहरूको मुख्य आपत्ति भएको उनले बताए ।
उनले भने,‘ कार्यालय समय भन्दा पछि रातको ८/ ९ बजे इमेलमा पत्र पठाएर तिमीहरूको जिम्मेवारी हेरफेर वा सरुवा भएको भनेर जानकारी आउँछ । त्यो पनि गाउँपालिकाको अध्यक्षको आदेश अनुसार भनेर पत्रमा भनिएको छ । यस्तो हुनुमा हामीलाई आस्थाको आधारमा नै गरिएको हो ? भन्ने कुनै दुई मत छैन् ।’ यस्तै उनले स्थानीय सरकार सञ्चालन ऐनमा अध्यक्षले आदेश गरेर प्रशासन चलाउने भन्ने कुराको परिकल्पना नभएको समेत बताए । ट्रेड युनियनको स्वतन्त्रता भन्ने कुरा संविधानमा पनि उल्लेख भएको भन्दै उनले आफूहरू विभिन्न ट्रेड युनियनमा आवद्ध भएयता पनि सेवा दिने क्रममा कुनै पनि आस्था प्रकट नगरेको बताए । उनले आस्थाका आधारमा प्रशासनिक दण्ड लगाएर नचाहेको शाखामा सरुवा गर्नु उचित नभएको समेत बताए ।
उनले भने,‘ महिला विकास शाखाको कर्मचारीलाई वडामा सरुवा गरियो । योजना शाखाको कर्मचारीलाई राजश्वमा सरुवा गरियो । जहाँ उसको ओएनएममा दरबन्दी छैन्, त्यसमा पठाइएको छ । यो भन्दा ठुलो राजनीति के हुन्छ ?’ उनका अनुसार देशका तिन तहका सरकारहरूमा ट्रेड युनियनहरूसँग छलफल गरेर प्रशासकीय सरुवा बढुवा गर्ने प्रचलन छ । तर, यहाँ आस्थाका हिसाबले घाटी च्यापेर विभिन्न शाखाहरू पठाउने काम गरिएको छ । यस्तै आफूहरूलाई अर्को जिम्मेवारी दिएको कुनै पनि दुख नभएको भन्दै उनले छलफल नगरी कार्यालय समय भन्दा पछि अध्यक्षको आदेशमा भन्ने कुराले गर्दा आपत्ति भएको समेत बताए । उनले प्रमुख प्रशासकीय पद भनेको सबैलाई न्याय दिन पद भएयता पनि त्यसको दुरुपयोग भएको बताए । यस्तै गाउँपालिकाको प्राविधिक शाखामा काम गर्ने इन्जिनियरलाई विगत २ / ३ महिनादेखि मानसिक तनाव दिइरहेको समेत उनको भनाइ छ ।
उनले इमान्दारिता पूर्वक काम गर्दा पनि कार्यालयमा आएर विभिन्न व्यक्तिहरूले दुर्व्यवहार गरेको र राजनीतिक आडमा प्रदेशको प्रदेश पूर्वाधार प्राधिकरणमा काजमा सरुवा गरेको भन्दै त्यो तत्काल खारेजी गर्नु पर्ने आफूहरूको माग रहेको समेत बताए । उनले भने,‘ स्थानीय सेवामा नियुक्त भएर आएको ब्यक्तिलाई राजतिलक आडमा काजमा प्रदेशमा सरुवा गने कानुनमा कतै उल्लेख छैन् । तर, यहाँ फरक आस्था राख्दैमा दण्ड चलाउने र कारबाही गर्ने गरिएको छ ।’ यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले यो गाउँपालिकाको आन्तरिक विषय भएको भन्दै यसका बारेमा कुनै पनि प्रतिक्रिया दिन मानेनन् ।
यस्तै गाउँपालिका अध्यक्ष शम्भु गिरीले कर्मचारीहरूको आस्थाका आधारमा सरुवा नगरेको भन्दै जिम्मेवारी हेरफेर गरिएको बताए । स्थानीय सरकार सञ्चालन ऐनको कार्यविधि नबनेको हुँदा प्रदेश र सङ्घलाई टेकेर नै काम गरेको उनको दाबी छ । उनले भने,‘ पहिलाको जनप्रतिनिधिहरूले कार्यविधि बनाउनु भएको रहेनछ । हामी त्यो बनाउने काममा लागेको छौँ । त्यो नबन्दा सम्मको लागि हामीले जिम्मेवारी हेरफेर गरेका हौँ, कुनै आस्थाको कारणले नभए संघीय मापदण्ड अनुसार गरेका हौँ ।’ यस्तै उनले देशभरका सबै स्थानीय तहमा कर्मचारीहरूको जिम्मेवारी यही तरिकाले चलिरहेको हुँदा आफूहरूले जिम्मेवारी हेरफेर मात्र गरेको बताए ।