दाङ, १० फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले ३० बेडको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले रिबन काटेर सर्जरी वार्डको उद्घाटन गरेका थिए । उनले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए ।
प्रतिष्ठानका चिकित्सक, कर्मचारी, नर्स, स्वास्थ्यकर्मीहरूको सामूहिक पहलमा प्रतिष्ठानको सेवा विस्तार भइरहेको भन्दै अस्पताल सेवालाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी विभिन्न कामहरू अघि बढाइरहेको बताए । सर्जरी वार्ड उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा .रमेश कँडेलसहित प्रतिष्ठानका चिकित्सक, कर्मचारी, नर्स, स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानको जनरल सर्जरी विभागमा एसोसिएट प्रोफेसर डा. सूर्यमान गुरुङ, लेक्चरर डा. आनन्द न्यौपाने, लेक्चरर डा. अभिषेक पौडेल र डा. आत्मनन्द बर्माले बिरामीलाई सेवा दिइरहेका छन् ।