
काठमाडौं, १३ फागुन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ। बिहान ११ बजे सुरु हुने आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महसचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।
संसदको पात्रोअनुसार आज पनि शून्य समय, विशेष समय, तथा अन्य विधायकी कार्य भने जारी रहनेछन् । तीन मन्त्रीको राजीनामा बटम लाइन बनाएका एमाले सहितका प्रतिपक्षी दलले आजको संसद बैठकमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। हत्या र भ्रष्टाचारको आरोप लगाउँदै एमाले, रास्वपा र राप्रपाले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।
बालकुमारी घटनामा दुई युवाको ज्यान गएको घटनामा भौतिक योजना तथा पुर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम लिजमा दिने विषयमा संस्कृति मन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने प्रतिपक्षदलहरुको अडान छ । भोलिको बैठकमा मन्त्रलयगत प्रश्नोत्तर तथा विभिन्न विधेयक पेश हुने सम्भावना छ ।