
दाङ, १७ फागुन । घोराहीको झीगौरामा दाङ चेम्बर अफ कमर्सले लगाएको दाङ एक्स्पो २०८० मा चेम्बरको कार्य समितिसँग एउटा लेनदेनको कागज बनाएर ठेकेदारसँग अर्को गोप्य कागज गरेको सार्वजनिक भएको छ ।
चेम्बर अफ कमर्सले माघ २३ गतेदेखि फागुन ८ गतेसम्म १५ दिन लामो एक्स्पोको नाममा मेला लगाएको थियो । एक्स्पोमा एक सय ८० स्टल रहेकोमा ५० स्टल स्थानीय व्यवसाय प्रवर्द्धनका लागि दिइएको थियो । ५० वटा घरेलु उद्योगमा केही छुट दिए पनि न्यूनतम् २६ हजारदेखि अधिकतम ४५ हजारसम्म भाडा तिरेर व्यापारीहरूले एक्स्पोमा स्टल राखेका थिए ।
मेला सकिएपछि धेरैले पैसा नपाएको गुनासो गरेका छन् । एक्स्पो ठेक्कामा दिएकाले ठेकेदार भागेपछि करीब २८ जना सेक्युरिटीले आफूले काम गरेको पैसा नपाएको बताए । चेम्बरको जिल्ला कार्य समितिसँग एक्स्पोका ठेकेदार सुर्खेत निवासी भरत ओलीले १८ लाख दिने कागज गरे पनि चेम्बरका जिल्ला अध्यक्ष विकास अग्रवालसँग ७० लाख दिने कागजी लेनदेन गरेको बाहिर आएको हो ।
एक्स्पोमा वाल उद्यान, जुवाजन्य विभिन्न खेलमा पनि चेम्बरका अध्यक्ष अग्रवालले नै आफ्ना निकटलाई ठेक्का दिएर कमिसन लिएको आरोप लागेको छ । अग्रवालले आफू प्रथम पक्ष भई छुट्टै गोप्य ७० लाखको सम्झौता गरेको कुरा बाहिर आएपछि सिंगो चेम्बरको जिल्ला कार्य समितिमा खैलाबैला मच्चिएको छ । आयोजक चेम्बर भएपनि यसको ठेक्का एमएमडिकेएल इभेन्ट एन्ड बहुउद्देश्यीय प्रालिले लिएको थियो ।
अग्रवालले रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८ का मनु बुढा मगरसमेतको रोहबरमा ठेक्कामा दिएको रकम भन्दा बढिको लेनदेनको कागज गरेका छन् । भरत ओलीसहित दोस्रो पक्षले लेनदेनमा भएको रकम उपलब्ध गराउने र त्योवापत चेम्बरले स्थानीय प्रहरी प्रशासन, राजश्व, कर, खाजा सबै बेहोर्ने लिखित कागज गरेको खुलेको छ । यता, चेम्बरका जिल्ला अध्यक्ष अग्रवालले नक्कली कागज देखाएर आफूलाई बदनाम गर्ने काम भइरहेको बताए । उनले लेनदेनको कागज सबै कार्य समितिको बैठकबाट पास गरिएको पनि बताए ।