२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित हुन्छ : मन्त्री शर्मा

दाङ, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी हुन ।

आइतबार दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा सहिदहरूको सालिकमा माल्यार्पण गर्दै मन्त्री शर्माले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई कोही कसैले पनि अबमूल्यन गर्न नमिल्ने बताएकी हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ थियो । अहिले अस्थिरता चाहनेले विद्यमान व्यवस्थामाथि आलोचना गरे पनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन् ।

मन्त्री शर्माले मुलुकमा व्यवस्था परिवर्तनका लागि भएको लामो द्वन्द्वका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाइ गर्न नहुने बताइन् ।

त्यस्तै मन्त्री शर्माले बेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि संसदबाट छिट्टै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्ने बताइन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस