काठमाडौं, २३ फागुन । नयाँ सत्ता गठबन्धनमा सहभागी हुन एकीकृत समाजवादी सकारात्मक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफल गरेपछि एसका अध्यक्ष माधव नेपाल सरकारमा सहभागी हुन सकारात्मक भएको बताइएको छ ।
सरकारमा सहभागी हुने गरी पार्टीको सचिवालय बैठकले निर्णय गर्ने एस स्रोतको भनाइ छ । अहिले केहीबेर पार्टी सचिवालयमा बैठक बस्दैछ । उक्त बैठकले सरकारमा जानेबारेमा निर्णय गर्नेछ । सरकारमा सहभागी हुन अध्यक्ष माधव नेपालमाथि एसका नेताहरूले दबाब बढाएका छन् । यद्यपि, राजेन्द्र पाण्डेसहित केही नेताहरू भने सरकारमा सहभागी हुन नहुने मत राखिरहेका छन् ।
महासचिव घनश्याम भुसालले पनि प्रष्ट धारणा दिएका छैनन् । तर, वामपन्थीहरूको सरकार बनेकाले उक्त सरकारमा जानुपर्ने अन्य सांसद र नेताहरूको दबाबमा भुसाल पनि सकरात्मक बनेको बताएको छ । झलनाथ खनाल सुरु दिनदेखि नै नयाँ गठबन्धनमा जानुपर्ने मत राखिरहेका थिए । सचिव रामकुमारी झाँक्री पनि खनालकै लाइनमा थिइन् । नयाँ गठबन्धन बनाउँदा जानकारी नदिएको भन्ने अध्यक्ष नेपालको चित्त दुखाईमा प्रचण्ड र ओलीले मलमपट्टी लगाउने प्रयास गरिरहेका छन् ।
माधव नेपाल नेतृत्वको एसको साथ नपाउँदा प्रदेश सरकार पुनर्गठनमा पनि समस्या हुने भएकोले पनि एमाले र माओवादी केन्द्रले माधव नेपाललाई गठबन्धनमा जोड्न खोजिरहेका हुन् ।