२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

दानबिरको दान गुपचुपमै गुम्नाम

दाङ, २३ फागुन । जनकल्याण माध्यामिक विद्यालय दुधरासले प्राविधिक शिक्षालय संचालनको उद्देश्य राखेर २०७४ माघ १८ गतेदेखि २४ गतेसम्म विद्यालयमा श्रीमत् भागवद ज्ञान महायज्ञ संचालन गरेको थियो । प्राविधिक शिक्षाको उद्देश्य राखेर संचालन गरिएको पवित्र धार्मिक ज्ञान महायज्ञमा संकलित दान अझै गुपचुपमै छ । महायज्ञमा कसले कति दान दियो भन्ने कुराको जानकारी न विद्यालय व्यवस्थापन समितिलाई थाहा छ , न विद्यालय प्रशासनलाई नै । महायज्ञको आम्दानी र खर्च विवरण गुपचुपमै गुम्नाम बनिरहेको छ । 

विद्यालय परिसरभित्र दाताहरुको शिलालेखमा नाम राख्न लागि पनि स्मारक उभिसकेको छ । तर शिला अझै टासिएको छैन । जो निर्माणाधिन अवस्थामा अलपत्र छ । महायज्ञमा उठेको दान हिसाव किताव न विद्यालयले खोजेको छ । महायज्ञ मुल आयोजक समितिले बुुझाएको छ । जसका कारण महायज्ञको दान गुपचुपमै गुम्नाम बनिरहेको छ । जसका बारेमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन बेखबर छन् । तर प्राविधिक शिक्षालय स्थापनाका लागि संचालन गरेको महायज्ञको खर्च विवरणको चासोका बारेमा स्थानीयहरुले विद्यालयलाई घचघच्याउदै आइरहेका छन् । तर विद्यालय प्रशासन र व्यवस्थापन समितिले महायज्ञ मुल आयोजक समितिले  खर्च बिवरण नबुुझाएको भनि पन्छिदै आइरहेको छ । स्थानीय डिल्ली ददेलले भन्नुुभयो–‘ विद्यालय व्यवस्थापन समिति र प्रशासन महायज्ञको हिसाव कितावका बारे चाँसो दिएको छैन् । ’ विद्यालयले प्राविधिक शिक्षालय संचालनका दानबिरहरुको दानका बारेमा विद्यालय व्यवस्थापन समिति, प्रशासन र स्थानीयहरु बेखबर रहेको उनले बताएका हुन ।  

विद्यालयको शैक्षिक विकास र सुधारका लागि तत्कालिन विद्यालय व्यवस्थापन समितिले संचालन गरेको धार्मिक ज्ञान महायज्ञमा थुप्रैले दान गरे पनि तत्कालिन विद्यालय व्यवस्थापन समिति र महायज्ञ मुल आयोजक समितिले आम्दानी खर्च विवरण सार्वजानिक नगरे पनि वर्तमान विद्यालय व्यवस्थापन समितिले महायज्ञको आम्दानी खर्च विवरणको खोजबिन अझै गरेको छैन । जसका कारण महायज्ञको दानबिरहरु दान विद्यालय व्यवस्थापन समिति मात्रै नभई विद्यालय प्रशासनसँग पनि कुनै हिसाव किताव छैन । विद्यालयका पूर्व विद्यार्थी कपिल लामिछानेले भन्नुुभयो– ‘ विद्यालयले अझै महायज्ञको हिसाव किताव नखोज्नुु विद्यालय माथि नै शंका गर्न सकिन्छ ? ’ विद्यालय व्यवस्थापन समितिका सदस्य तथा विद्यालयका प्रधानध्यापक महायज्ञ मुल आयोजक समितिका महासचिव रहे पनि त्यो विषयमा आफू जानकार नभएको विद्यालयका प्रधानध्यापकहरुको भनाई रहेको छ । महायज्ञको उद्देश्य अनुुरुप विद्यालयले सिटिईभिटिई अन्तर्गत ३ वर्ष डिप्लोमा इन सिभिल ईन्जीनियरिङ अध्ययन समेत सुरु गरिसेकेको छ । तर महायज्ञको आम्दानी खर्च विवरण अझै सार्वजानिक गर्न सकेको छैन । 

‘ ६वर्षदेखि हिसाव कितावमै सिमिति महायज्ञ समिति.’

प्राविधिक शिक्षा संचालानार्थ सहयोगार्थ श्रीमत भागवत ज्ञान महायज्ञमा थुप्रै दानदाताहरुले नगददेखि जग्गासम्म दान गरे । जसको हिसाव कितावको काममा महायज्ञ मुल आयोजक समिति अझै अल्झि रहेकोे छ । ६दिनको महायज्ञको हिसाव किताव ६वर्षसम्म गरि भ्याएको छैन । महायज्ञ मुल आयोजक समितिका महासचिव गेहराज पौडेलले भन्नुुभयो– ‘ हिसाव कितावको काम अझै वाँकी छ । त्यो भ्याएपछि महायज्ञ मुल आयोजक समितिले सार्वजानिक गर्ने छ । ’ ६वर्षदेखि महायज्ञको हिसाव किताव गर्दै बसिरहेको महायज्ञ मुल आयोजक समिति हिसाव कितावमै खर्च विवरणको कामको टार्दै आइरहेको छ । 

‘हामीलाई केही थाहा छैन ’

तत्कालिन विद्यालय व्यवस्थापन समिति नै महायज्ञ मुल आयोजक समिति रहेको थियो । तत्कालिन विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा रहेका थिए । विश्वकर्माको कार्यकाल पछि विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय अभिभावक शेर बहादुर कुुसारी समाल्दै आइरहेका थिए । तत्कालिन विद्यालय व्यवस्थापन समिति अर्थात महायज्ञ मुल आयोजक समितिले महायज्ञको हिसाव किताव विद्यालय व्यवस्थापन समितिका बुुझाउन नसक्दा वर्तमान समिति महायज्ञको खर्च विवरणको बारे जानकार नरहेको उनको भनाई छ । तर तत्कालिन विद्यालय व्यवस्थापन समितिका सदस्य तथा महायज्ञ मुल आयोजक समितिका महासचिव विद्यालय प्रधानध्यापक भिम बहादुर भण्डारी रहेका थिए । तर महायज्ञ मुल आयोजक समितिको महासचिव र विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव रहे पनि यस बारेमा आफूलाई पनि कुनै जानकारी नभएको विद्यालयका प्रधानध्यापक हिम बहादुर भण्डारीले बताएका हुन । उनले भने –‘ म जिम्मेवारीमा रहे पनि महायज्ञका बारेमा जानकार छैन । ’

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस