दाङ, २५ फागुन । तेस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा राप्ती गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगिताको तेस्रो साविक विजेता घोराही हुँदा सान्त्वना बंगलाचुली भएको छ । घोराही–१५ जिल्ला समन्वय समितिको परिसरमा रहेको सहिद मञ्चमा हजारौँ दर्शकहरुको उपस्थितिमा भएको उपाधि भिडन्तमा शान्तिनगरले २५–२०, २२–२५, २६–२४, २५–१८ को सेटमा राप्तीलाई पराजित गरेको हो ।
शान्तिनगरले उपाधिसँगै नगद २ लाख २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यसैगरी द्वितीय हुने टिम राप्तीले पनि नगद १ लाख २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेल हुनुअघि तेश्रो स्थानका लागि भएको प्रतियोगितामा घोराहीले बंगलाचुलीलाई ३–२ को सेटमा हरायो । कडा प्रतिष्पर्धा भएको खेलमा घोराहीले २५–४, २२–२५,२५–१८, १७–२५ र १५–९ को सेटमा हराउँदै नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको टिमले पनि २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसअघि आजै बिहान भएको दोश्रो सेमिफाइनलमा राप्तीले घोराहीलाई २५–२२, २५–२० र २६–२४ को सोझो सेटमा पराजित गरेर फाइनलमा पुगेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रुपमा शान्तिनगरका कमल सुनार भएका छन्। लुम्बिनी प्रदेश भलिबल टिमको खेलाडीसमेत रहेका सुनारले टिमलाई फाइनलसम्म पुर्याउन र उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । फाइनल खेलको प्लेयर अफ द म्याच पनि कमल सुनार भए ।
यसैगरी, उत्कृष्ट स्पाइकर घोराहीका सुरेन्द्र केसी, उत्कृष्ट डिफेन्डर शान्तिनगरका मिलन पुन, उत्कृष्ट सर्भर राप्तीका विकास गिरी, उत्कृष्ट ब्लकर राप्तीका चिरन खड्का, उत्कृष्ट सेटर शान्तिनगरका मिलन घर्ती मगर हुँदा उत्कृष्ट कोच शान्तिनगरका मिनबहादुर घिमिरे भएको नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिए । नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको सभाअध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख आतिथ्य एवम् प्रदेश सभा सदस्य अनुराग खड्काको विशिष्ट आतिथ्यमा पुरस्कार वितरण गरिएको थियो ।