२०८१ कार्तिक १७ गते शनिवार | 2024 November 2nd Saturday

प्रधानमन्त्री प्रचण्डले फागुन ३० मा विश्वासको मत लिने

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले फागुन ३० गते बुधबार विश्वासको मत लिने भएका छन् । उनले ३० गते  विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद सचिवालयलाई पत्र पठाएका हुन्  । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालयबाट आइतबार संसद सचिवालयमा पत्र आइपुगेको छ । 

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदै छ । त्यसको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । हाल उनलाई माओवादीसहित एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीको साथ छ  । यी दलले साथ रहेका कारण उनले सदनमा विश्वासको मत पाउने पक्का छ । 

फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर  प्रचण्डले एमालेलगायत दलहरूसँग नयाँ गठबन्धन बनाएका थिए । त्यसपछि कांग्रेसले समर्थन फिर्ता लिएको थियो । संविधानमा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने व्यवस्था छ । प्रचण्डले १४ महिनायता  विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस