२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

खुमबहादुर विरुद्ध लगाइएको मुद्दा झुट्ठोः सभापती देउवा

दाङ, १६ चैत । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्का विरुद्ध झुट्ठा मुद्धा लगाएर फसाइएको दावी गरेका छन् । दाङ लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापती देउवाले खड्कालाई भष्ट्राचारको झुठ्ठो मुद्धामा फसाइएको दावी गर्दै खड्का देशको सच्चा सपुत भएको समेत बचाए ।

`उनलाई षडयन्त्र पूर्ण तरिकाले जेल हाल्यो । झुट्ठा मुद्धा लगाएर फसाउन खोज्यो, फसायो पनि’उनले भने,‘त्यसले केही भएन । उनको हाईट झनझन बढ्दै गयो । उन राष्ट्रको सपुत हो । त्यस्ता व्यक्तिलाई मुद्धा लाग्दैमा आश्चर्य मान्नुहुदैन हामीले । त्यसकारण मुद्धाको कुरा हाम्ले उठाउने कुरा छैन् ।’ 

सालिक अनावरण गर्न यहाँ आईपुगेको देउवाले दिवंगत नेता खुमबहादुरको प्रशंसा र योग्दानको चर्चा गरे। ‘उनी त्यस्ता व्यक्ति हुन्, गरेर नथाक्ने, ठूलो अडान भएको व्यक्ति हो । साथिहरुको लागी समर्पीत व्यक्ति हो’उनले थपे,‘साथीको लागी ज्यान दिन सक्ने, ठूलो कष्ट सहन सक्ने व्यक्ति थिए । साथी माझ मात्रै होइन, जनता माझ पनि लोकप्रिय थिए। सहयोगी व्यक्ति थिए, त्यस्तो व्यक्तिको बारेमा कुरा गरेर साध्य हुदैन । उनले छोडेर गएका कामहरु हामीले पुरा गर्नुपर्छ ।’ 

खड्काको २०७४ साल चैत १६ गते निधन भएको थियो । खड्का कांग्रेसमा पूर्व महामन्त्रीको जिम्मेवारीमा समेत थिए ।पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेलसम्म पुगे । ०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट भने खड्का दोषी ठहर भएका थिए । 

२ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुेलेको भन्दै अख्तियारले सर्वोच्चमा ०६३ चैतमा पुनरावेदन गरेको थियो । वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय बिगो र त्यति नै जरिवानाको फैसला सुनायो । २०७० मा जेलमुक्त भएका थिए । 

सालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्ने कांग्रेस नेताहरुले पार्टी र जनतालाई जोड्न खड्को योग्दान अतुलनिय रहेको, अहिले उनको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस