२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा (माआवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रचण्डले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे । 

आफुले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गरे ।

उनले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री प्रचण्डले पूरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पारे । उनले नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्दै जनतालाई डेलिभरी दिनेगरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस