२०८१ माघ ६ गते आइतवार | 2025 January 19th Sunday

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने

काठमाडौ, २२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।

मुख्यमन्त्री शाहले आज दिउँसो ३ बजे विश्वासको मत लिने प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए । त्यसपछि माओवादी केन्द्रले शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले त्यसको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ  । साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेशसभालाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ । उनले विश्वासको मत पाउने या नपाउने अझै स्पष्ट छैन ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

त्यसैले गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टीका ५ सांसदलाई मन्त्री बनाएका छन् । तर, सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे नागरिक उन्मुक्ति पार्टीमा दुईथरी ह्विप जारी भएका छन् ।

अध्यक्ष रन्जिता श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारको नेतृत्व गरेका शाहलाई विश्वासको मत नदिन ह्विप लगाएकी छन् भने यता सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक खुसीराम चौधरीले पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस