काठमाडौं, २२ चैत । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री माओवादी संसदीय दलका नेता जोखबहादुर महरा बन्ने निश्चित भएको छ । केन्द्रमा भएको गठबन्धन अनुसार एमाले, जसपा, नेकपा एस, स्वतन्त्र सांसद खड्क बस्नेत र लोसपाले महरालाई समर्थन गर्ने भए पछि मुख्यमन्त्री बन्न लाग्नु भएको हो । उहाँ रोल्पा १ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ । लुम्बिनी प्रदेश सभामा ८७ सांसद मध्ये एक जना निलम्बनमा परेपछि अहिले ८६ जना छन् ।
मुख्यमन्त्री बन्नका लागि ४४ जना सांसद आवश्यक पर्छ । अहिलेसम्म महरालाई गठबन्धन दलबाट एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एसका एक र नवलपरासी २ (१) बाट निर्वाचित स्वतन्त्र सांसद खडक बस्नेत सहित ४४ सांसदले समर्थनमा हस्ताक्षर गरेका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले लोसपा र नागरिक उन्मुक्तिले पनि समर्थन गर्ने आश्वासन दिएको बताएका छन ।
उन्मुक्तिका ४, लोसपाका ३ जना सांसद छन् । यी थपिए महराको समर्थनमा ५१ जना पुग्छन् । मुख्यमन्त्री चौधरी गत वैशाख १४ गते लुम्बिनी प्रदेशसभामा सहभागी १० दल मध्ये आठ दलका ५३ सांसदको समर्थन पाउँदै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
