
काठमाण्डौ, २७ चैत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि आजै कँडेलले गठबन्धनमा रहेका एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का गरी २३ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । कँडेललाई एमालेका नौ, माओवादीका १३ र एकीकृत समाजवादीका एक जना सांसदले समर्थन गरेका थिए ।
यसअघि माओवादीबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर दलहरूलाई आह्वान गर्नुभएको थियो । शर्माले विश्वासको मत लिने तयारी गरे पनि गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार केन्द्रबाट माओवादी नेतृत्वले दबाब दिएपछि उहाँले राजीनामा दिनुपर्ने अवस्था आएको हो ।