२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

स्थायित्वका लागि निर्वाचन प्रणाली फेरौँ : नेता कोइराला

दाङ, ३० चैत । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणालीमा सुधार गर्नु पर्ने बताएका छन् । मिश्रित निर्वाचन प्रणालीका कारण ६ / ६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै कांग्रेस नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनको घोराहीमा उद्घाटन गर्दै नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला राजनीतिक शक्तिका बिच एकता कायम गरी निर्वाचन प्रणालीका बारेमा ठोस कदम चाल्नुपर्ने बेला आएको बताए ।  

नेपालको संविधान २०७२ मा रहेका केही त्रुटीहरू संशोधन गर्नुपर्ने भएकाले त्यसका लागि दुई ठूला राजनीतिक शक्ति कांग्रेस र एमाले एक भएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।  नेता कोइरालाले नयाँ संविधान जारी गर्ने बेला गरिएको निर्वाचन प्रणालीको परिकल्पना ठिक भएपनि यसको गलत प्रयोगले राजनीतिक अस्थिरता निम्त्याएको भन्दै राजनैतिक स्थिरताका लागि काङ्ग्रेस र एमाले एकै स्थानमा उभिने समय आइसकेको बताए ।पटक पटक सरकार परिवर्तन हुने परिपाटीले विकासलाई पछि पारेको भन्दै नेता कोइरालाले सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुने, कर्मचारी फेरबदल हुने र त्यसको प्रत्यक्ष असर विकासमा हुने भएकाले अस्थिरतालाई न्यूनीकरण गर्नका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने उनले तर्क गरे । 

अब काङ्ग्रेसको बाटो यही हो । यसका लागि दुई ठूला पार्टी एकै ठाउँमा उभिनुपर्छ उनले भनेँ ।  राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक मन्दीको डरलाग्दो अवस्था आएको, आर्थिक मन्दीका कारण धेरै व्यवसायमा सटर डाउन भइसकेका र एकै व्यक्ति तथा समूहले आर्थिक जालो फिजाएको पनि उनले बताए । निर्वाचन प्रणाली पुनर्विचारको लागि यो विषयमा पार्टी र सदनमा कुरा उठिसकेको भन्दै नेता कोइरालाले अब काङ्ग्रेसले यही एजेन्डामा आफूलाई केन्द्रित राख्ने बताए । यो समस्याबाट जनतालाई काङ्ग्रेस न्याय दिन लागिपरेको छ, लाग्छ र गर्छ, विश्वस्त हुनुहोस् उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले विवादित सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक पीडितमैत्री विधेयक बन्नुपर्ने बताए । विधेयकमा भइरहेको राजनीतिकरणका विषयलाई लिएर नेता कोइरालाले टीआरसी विधेयक राजनीतिक लेनदेनको विषय बन्न नहुने पनि बताए । कांग्रेसले सदनमा कसैसँग व्यक्तिगत तथा पार्टीगत प्रतिशोध नराखेको बताउँदै प्रतिपक्षको रचनात्मक भूमिका खेल्ने भन्दै देश र जनतामाथि प्रहार हुने विषयमा काङ्ग्रेस संसद्‌मा चुप लागेर नबस्ने पनि बताए ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस