२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

सरकारको लक्ष्य ‘सुखी नेपाली र समृद्ध नेपाल’ नै हो : प्रधानमन्त्री प्रचण्ड

दाङ, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको लक्ष्य ‘सुखी नेपाली र समृद्ध नेपाल’ नै भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको अल्टिमेट गोल भनेको ‘सुखी नेपाली र समृद्ध नेपाल’ नै रहेकाले कोही पनि यसमा द्विविधामा रहन नहुने बताएका हुन् । उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’ मा पुग्न सुशासन र सामाजिक न्याय अनिवार्य सर्त रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले अहिले देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयास केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेको बताए । उनले सामाजिक न्यायसहितको समृद्धिमा समाजवादी विशेषता अन्तरनिहित रहेको बताए । उनले कृषिलाई उच्च प्राथमिकतामा नराखिकन र कृषि उत्पादन वृद्धि र कृषि रोजगारी श्रृष्टि गर्ने, कृषिमा आधारित उद्योगहरू स्थापना गर्ने कुरालाई उच्च प्राथमिकता नदिइकन उत्पादन र उत्पादकत्व वृद्धिको मात्रै कुरा गरेर कुनै पनि परिणाम ननिस्किने बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल लगानीको सम्भावना भएको देश मात्रै नभई भरपर्दो गन्तव्य भएको बताए । उनले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा रोजगारी सिर्जनाको प्रचुर सम्भावना रहेको बताए । प्रधानमन्त्री प्रचण्डले युवा जनशक्तिको सीप, सामर्थ्य र क्षमतालाई विकासप्रतिको हुटहुटीमा उपयोग गर्दै उपलब्ध प्राकृतिक स्रोत एवं साधनको कुशल र प्रभावकारी परिचालन गर्न सके देशको समृद्धि छोटो अवधिमा नै सम्भव रहेको बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस