२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

मानव विकास हुनु भनेको देशको विकास हुनु हो : अध्यक्ष प्रमोद बस्नेत

दाङ, १५ वैशाख । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सडक र ठूला भवनहरू बनाएर मात्र विकास नहुने बताएका छन् । शनिबार शान्तिनगर ३ पातेटाकुरामा रहेको प्रगतिशील महिला समुहद्धारा उत्पादित सरफको बजारिकरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले अबका  विकासहरू मानव विकास हुनु पर्ने बताए । उनले भने,‘ हरेक नागरिकहरू कुनै न कुनै पेशा व्यवसायमा लागेपछि मात्र मानव विकास हुन्छ । मानव विकास हुनु भनेको देशको विकास हुनु हो ? अझै पनि हामीहरू सडक र ठूला भवन बनाए मात्र विकास भएको ठान्छौँ । अब मानवको विकास नभएसम्म ति विकासको महत्व हुँदैन ।’

यस्तै उनले महिला दिदी बहिनीहरूले तालिम लिएर सिकेको कुरा व्यवहारमा लागू गरेको भन्दै खुशी व्यक्त गरे ।  उनले गाउँपालिकाले यहाँका नागरिकहरूलाई लक्षित गरेर विभिन्न तालिमहरू दिँदै आइरहेको भन्दै आफ्नो प्रमुख लक्ष्य उद्देश्यै भनेको यहाँका नागरिकहरू कुनै पनि पेशा व्यवसायमा लागेर आत्मनिर्भर बनाउने रहेको समेत बताए । प्रगतिशील महिला समुहद्धारा उत्पादित स्थानीय सरफ आफूले प्रयोग गरेको भन्दै उनले गुणस्तर र मूल्यमा पनि  एकदमै राम्रो रहेको भन्दै सबैलाई प्रयोग गर्न आग्रह गरे । 

उनले महिला समुहलाई सरफ उत्पादन गर्नका लागि आवश्यक पर्ने उपकरणहरू सहयोग गर्ने भन्दै यो कार्यलाई निरन्तरता दिन समेत आग्रह गरे । उनले भने,‘ धेरैलाई विभिन्न तालिमहरू गाउँपालिकाले दिँदै आएको छ । तर, सबैले व्यवहारमा लागू गरेको देखिदैन । तपाईँहरूले तालिमलाई व्यवहारमा लागू गर्नु भएको छ । यसका लागि गाउँपालिकाले जुनसुकै सहयोग गर्न तयार रहेको छ । ’ यस्तै उनले गाउँपालिकामा उत्पादन भएका बस्तुहरू यहाँका नागरिकहरूले प्रयोग गरेमा पुँजी  पनि यही रहेन भन्दै  गाउँपालिकामा साबुन उद्योग, सिस्नो पाउडर उद्योग र सरफ उद्योग सञ्चालनमा आएको हुँदा बजारिकरणको लागि सहयोग गर्ने समेत बताए । 

यस्तै कार्यक्रममा बोल्दै शान्तिनगर ३ का वडाअध्यक्ष मीन बहादुर केसीले सीप सिकेपछि त्यसलाई सदुपयोग गरेर आर्यआर्जन गर्नु पर्छ, भन्ने आफूहरूको मान्यता रहेको भन्दै प्रगतिशीलका महिलाहरूले सीपको सदुपयोग गरेकोमा  खुशी व्यक्त गरे । उनले स्थानीय तहमा लघुउद्यम संकलन गर्ने जुनसुकैलाई वडाले सहयोग गर्ने समेत बताए । उनले खेरा गइरहेको समयलाई सदुपयोग गरेर विभिन्न काम गर्न समेत वडाका नागरिकहरूलाई आग्रह गरे । समुहकी अध्यक्ष चमेली रजालीले ३ दिने तालिम लिएर आफूहरूले सरफ बनाउन थालेको बताइन् ।

उनले भनिन्,‘ मैले धेरै किसिमका तालिमहरू लिएको छु । तर, यो सरफ बनाउने तालिमलाई व्यवहारमा लागू गर्दै हामीले लघुउद्यम सञ्चालन गर्न थालेका छौँ । यसमा हामीलाई स्थानीय सरकारले सहयोग गरेमा अझ हौसला बढ्ने थियो । ’ यस्तै उनले अहिले सम्म आफ्नो ठाउँलाई कसैले नचिनेको भन्दै यही सरफको माध्यमबाट ठाउँ पनि चिनाउने अठोट लिएको समेत बताइन्  । यस्तै स्थानीय नन्दलाल पाण्डेले पनि महिला समुहले  बनाएर सरफ अन्य सरफ भन्दा राम्रो भएको भन्दै आफूले पनि यही प्रयोग गर्दै आइरहेको बताए ।

उनले पनि स्थानीय स्तरमा उत्पादन भएको वस्तुहरूको सबैले प्रयोग गर्नसकेमा उनीहरूलाई हौसला बढ्ने समेत बताए । यस्तै समुहकी सदस्य देवी काफ्लेका अनुसार करिब डेढ महिनादेखि सरफ बनाउन थालिएको छ । अहिले घरघरमा गएर अन्य सरफ भन्दा राम्रो रहेको भन्दै बिक्री गर्दै आइरहेको भन्दै उनले आफूहरूले उत्पादन गरेको सरफको गाउँपालिकाले बजारिकरणमा सहयोग गरेमा अझै धेरै उत्पादन गर्न समेत बताइन् । उनले भनिन्,‘ अहिलेसम्म डेढ क्विन्टल जति हामीले उत्पादन गरेका छौँ । तर, हामी त्यो बिक्री गर्नको लागि घर घरमा जानु पर्ने बाध्यता रहेको छ । यदि हामीले उत्पादन गरेको सरफको गाउँपालिकाले  बजारिकरण गरे हामीलाई धेरै सहज हुने थियो । ’ यस्तै उनले सरफ बनाउने कच्चा पदार्थ ल्याउन पनि समस्या हुने भएको भन्दै त्यसको पनि सहजीकरण गरिदिन आग्रह गरिन् ।  कार्यक्रमको सहजीकरण शान्तिनगर ३ का वडा सचिव हेमप्रसाद भण्डारीले गरेका थिए । 

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस