दाङ, १५ वैशाख । नेपाल प्रेस युनियन दाङले नयाँ वर्ष २०८१ के अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम घोराहीको बाह्रकुने दहमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिहरूलाई हटाउँदै स्वच्छ र निष्पक्ष रुपमा कमल चलाउनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय पत्रकारिताका क्षेत्रमा केही विकृति र विसंगति देखिएको भन्दै सहभागी वक्ताहरूले पत्रकारलाई आचारसंहिताको अनिवार्य पालना गरेर पत्रकारिता गर्नुपर्ने बताएका थिए ।
नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी पत्रकार महासङ्घको निर्वाचनमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल गर्नुपर्ने र त्यसको नेतृत्व प्रेस युनियन दाङले गर्नुपर्ने बताएका थिए । साथै वक्ताहरूले आसन्न पत्रकार महासंघ दाङको आसन्न निर्वाचनलाई सहमति सहकार्यका साथमा सम्पन्न गर्नेमा पनि जोड दिएका छन् ।
पत्रकारको छाता संगठन महासंघ दाङलाई सबैको अपनत्व हुनेगरि नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पनि जोड दिएका छन् । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे, पूर्व केन्द्रीय सदस्य केपी घिमिरे, प्रेस युनियन दाङका पूर्व अध्यक्षहरूका सन्तोष सुवेदी, सुशील बस्नेत, सल्लाहकार लीला शाह, बसुन्धरा गौतम, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रेस युनियन दाङका उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा सहभागीलाई अर्का अध्यक्ष गोपाल शर्मा भट्टराईले धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अमर क्षितिज भण्डारीले गरेका थिए ।