दाङ, २७ बैशाख । नेत्रविक्रम सी ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले राजपुरका आगलागी पीडितलाई नगद राहत हस्तान्तरण गरेको छ ।
बिहिवार पार्टीका पिबिएम शितल सी सहितको टोलीले राजपुर गाउँपालिका -७ हाटवासका आगलागी पीडितलाई नगद २८ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।
बिहिवार पार्टीका पिबिएम एवम केन्द्रीय न्याय बिभाग प्रमुख शितल सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सी , पार्टीका केन्द्रीय सदस्य सम्झना सी , पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य विकाश सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङ जिल्ला सचिव तिलक सी , युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष जिवनी सी लगाएतका नेताकार्यकर्ताहरु भीषण आगलागीबाट क्षतविक्षत भएको बस्ती हाटबासमा प्रत्यक्ष पुगि राहत संकलन समितिका संयोजक एवम राजपुर गाउँपालिका -७ का वडाअध्यक्ष पुष्कर वलीलाई नगद राहत हस्तान्तरण गरेको हो ।
राहत हस्तान्तरण गर्दै नेकपाका पिबिएम एवम केन्द्रीय न्याय बिभाग प्रमुख शितल सीले आगलागीबाट भएको भौतिक क्षतिमा पार्टीको तर्फबाट दुख व्यक्त गर्दै राज्यले तत्काल राहत , पुनर्निर्माण लगाएतका कामहरु प्रभावकारी ढंगले अगाडी बढाउन सुझाब दिएका थिए ।
नेता शितलले जनताको दुख संगसंगै नेकपा जहिलेपनी हातेमालो गर्ने पार्टी भएकाले यो भीषण आगलागीबाट भएको भौतिक क्षतिमा पनि नेकपा संगै रहेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
यस्तै राहत हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम पार्टीका दाङ जिल्ला इन्चार्ज सविन सीले अग्निपिडित जनतासंग आफ्नो पार्टी दुख साटासाट गर्न आएको बताएका थिए ।
नेता सविनले राज्यले आफ्नो नागरिकको सम्पुर्ण सम्पती नष्ट हुँदा जुनप्रकारको पहलकदमी सहित आउनुपर्ने थियो त्यो नदेखिएको प्रती पार्टीको तर्फबाट दुख समेत व्यक्त गरेका थिए ।
उनले भने– ‘राज्यले अभिभावकिय भुमिका निर्वाह गर्नुपर्दछ । यहाँ स्थानीय , प्रदेश र केन्द्रीय सरकारले नागरिकलाई यति ठूलो दुख पर्दा सहयोग गर्नुपर्ने , यहाँ प्रहरी छ , आर्मी छ । राज्यले चाहेको भए आफ्नो फोर्स परिचालन गरेको भए यो काम एक हप्तामा सम्पन्न हुने काम हो तर राज्य निरीह छ । राज्य यति निरीह छ कि , निकायहरु यति निरीह छन् कि मान्छेको पिडामा पनि कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने मात्रै सोच्ने गर्दछ्न । हामी सरकारलाई ध्यानाकर्षण गराउन चाहान्छौ कि यहाँका अग्निपिडित जनतालाई यथासिघ्र राहत उपलब्ध गराउन , भत्किएका घरहरु पुनर्निर्माण गरिदिनुपर्ने , भौतिक क्षतीको राज्यको तर्फबाट परिपुर्ति गर्नुपर्ने पार्टीको तर्फबाट माग रहेको छ ।’
नेता सविनले जनतालाई जहाँ दुख पर्छ त्यहा नेकपा पुग्ने भएकाले पार्टीले गरेको सानो नगद सहयोग बाहेक पार्टी नेताकार्यकर्ता अग्निपिडित जनताको भौतिक निर्माणमा हातेमालो गर्न पनि आउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेता सविनले भत्किएका घर पुनर्निर्माणका लागि पार्टीले श्रम शिविर चलाउने उद्घोष समेत गरेका थिए ।
राहत हस्तान्तरण कार्यक्रममा राजपुर – ७ का वडाअध्यक्ष एवम राहत संकलन समितिका संयोजक पुष्कर वलीले राहत उपलब्ध गराउने नेपाल कम्युनिस्ट पार्टीलाई धन्यवाद व्यक्त गरेका थिए ।
भौतिक क्षतीको विवरण एवम हालसम्मको संकलित राहतबारे जानकारी दिदै वडाअध्यक्ष वलीले करिव ५ करोडको क्षती भएको , २६ मध्य २३ घर जलेर नष्ट भएको , हालसम्म करिव साढे ४ लाख नगद राहत सहित अन्य लत्ताकपडा , टेन्ट , पाल , जस्तापाता लगाएतका राहत सामाग्री प्राप्त भएको जानकारी समेत दिएका थिए ।
राहात हस्तान्तरण कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी तिलक सीले गरेका थिए ।