
दीपक बोहरा
दाङ, २८ वैशाख । २९ वैशाखमा तोकिएको तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि सरगर्मी बढेको छ । दुईवटा व्यापारिक समूहबीच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । ती व्यवसायीहरुले राजनीतिक दलहरुको प्रत्यक्ष आवरण पाएका छन् । कांग्रेसले संघका महासचिव विनिल केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । तर, त्यो उम्मेदवारीका विरुद्ध कांग्रेसका ललितजंग शाहले अर्को प्यानल बनाए । जसलाई तुलसीपुरमा क्रियाशिल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चालगायत राजनीतिक दलको समर्थन छ ।
उक्त प्यानललाई कांग्रेसको एक खेमाले पूर्ण रुपमा समर्थन गरेको देखिन्छ । संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु पनि त्यही खेमामा छन् । उनीहरु दुबै उम्मेदवारहरु अहिले व्यवसायीहरुको घरदैलोमा गइरहेका छन् । उनीहरुले आ–आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका छन् ।
ललितजंग शाह नेतृत्वको प्यानलले पारिवारिक घेरा तोड्न आफ्नो उम्मेदवारी भएको बताउँदै आएका छन् ।‘उद्योग वाणिज्यसंघमा सिन्डिकेट भयो, परिवारको घेरामा छ’,उनले भने, ‘यसलाई तोड्न पनि मेरो उम्मेदवारी रहेको हो ।’ आफूले मात्रै सबै व्यवसायीहरुको भावना समेट्न सक्ने शाहको भनाइ छ ।
त्यस्तै विनिल केसीको प्यानलले भने आफू युवा भएकाले अब युवाले नै व्यवसायीहरुको नेतृत्व गर्नुपर्ने बताउँदै आएका छन्। ‘युवा नेतृत्व नै उद्योग वाणिज्य संघमा आवश्यकता हो’,उनले भने ‘त्यसैले म आएँ भने व्यवसायीहरुको हक हितलाई सम्बोधन गर्छु ।’
कसले जित्ला ?
दुबै उम्मेदवारले आ–आफ्नै जित्ने आधार प्रस्तुत गर्छन् । शाहले कांग्रेसका आधा जति मत आफूलाई आउने दबी गर्छन् । त्यसमा एमाले, माओवादी केन्द्रसहित गठबन्धनमा समावेश भएका दलहरुको मत थप हुँदा सजिलै जित्न सक्ने दावी पेश गर्छन् । अर्को आधार भनेको ‘रिजाल’ परिवारबाट सधै नेतृत्वमा रहँदा त्यसले व्यवसायीमा राम्रो सन्देश नगएकाले त्यसप्रति असन्तुष्टि राख्ने मतहरु आफूलाई आउने सक्ने आकलन गर्छन् ।
कांग्रेसमा प्रष्ट दुई खेमाकै लडाइ देखिएको छ । देखिएर होस् वा नदेखिएर होस्, कांग्रेसकै नेताहरुले सहयोग आफूले पाएको शाहको अनुभूति छ । कांग्रेसकै नेताहरुले हस्ताक्षर गरेको अपील समेत सार्वजनिक गरिएकाले पनि त्यसले पनि कांग्रेसकै नेताहरुको पनि सहयोग भएको प्रमाणित हुने उनी बताउँछन् ।
अर्कोतर्फ दुई पटक उपाध्यक्ष भइसकेका ललितलाई अहिले अध्यक्ष पाउनु दिनुपर्ने थियो, भन्ने खालको मनोविज्ञान पनि तयार भएको छ । केसीले आफू युवा भएकाले युवाहरुप्रतिनै मतदाता केन्द्रित हुन सक्ने आकलन गर्छन्। महासचिव भएर कार्यकाल पूरा गरेकाले स्वभाविक रुपमै अध्यक्षमा आफूलाई मत आउन सक्ने उनको आकलन छ । व्यक्तिगत स्वभाव, आफूले गरेका गतिविधि, भद्र भलादमी स्वभावले पनि प्रभाव पार्न सक्ने केसी समूहको आकलन छ ।
दुबैले आ–आफ्ना मतदाता बनाएका छन् । उनीहरु दुबै पक्षले धेरै मतदाताको आफ्नै सम्पर्क नम्बर राखि आफैले नै ब्यबसाय दर्ता गरिदिएको देखिन्छ । पहिचान नभएका तर, ब्यबसाय दर्ता गरेका धेरै जनाको नामावलीमा समावेश छ।