२०८३ बैशाख १५ गते मङ्गलवार | 2026 April 28th Tuesday

मतदाताको अपार माया देख्दा जित सुनिश्चित छ : ललितजंग शाह

दाङ, २८ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको शनिवार हुने निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएको संयुक्त प्यानलका उम्मेदवारहरू अहिले पनि मतदाताबीच पुग्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । मतदाताहरूको हौसलाले चुनाव जितिसकेको अनुभूति भएको संयुक्त प्यानलको अध्यक्ष पदका उम्मेदवार ललितजंग शाह बताउछन ।

‘हामी कुनै एक दलको बिचार समेटेका छैनौं । हाम्रो प्यानलमा सबै विचारका, साना ठूला सबै व्यवसायीहरूको समान सहभागिता छ । यसकारण पनि मतदाताको माझमा पुग्दा उहाँहरूले दिने उत्साह उत्तिकै हौसलापूर्ण छ’– अध्यक्ष पदका उम्मेदवार शाहले भने– ‘हाम्रो प्रचार प्रसारमा पूर्णरुपमा मतदाताहरूको सहभागिता छ । कुनै दलका ठूला नेताहरु देखाएर चुनाव जितिन्छ भन्ने भ्रम पालेकाहरुले यो निर्वाचनबाट थाह पाउँछन् कि चुनाव नेताले होइन, मतदाताले जिताउने हो भनेर ।’ घरदैलोमा पुग्दा मतदाताहरूले देखाएको उत्साहले आफूले चुनाव जितिसकेको र घोषणा हुने प्रक्रियाका लागि प्रतीक्षामा रहेको शाहले बताएका छन ।

चुनाव प्रचारप्रसार तथा मतदाताहरुको घरदैलोमा पुग्ने काम लगभग अन्तिम चरणमा पुगेको संयुक्त प्यानलको चुनाव प्रचारप्रसार समितिका संयोजक मिनराज वलीले बताए । ‘सबै मतदाताहरुको घरदैलोमा पुगिसकेका छौं । यदि कोहीकतै छुट्नुभएको छ भने क्षमाप्रार्थी छौं । साथै मतदातहरुले सबै विचारका व्यवसायीहरुलाई समेटेर अघि बढेको संयुक्त प्यानललाई नै रोजेका छन । यसको नतिजा त भोलिको मतदानले पनि देखाइहाल्ला’– उनले भने– ‘विगतदेखि नै केही व्यक्तिहरुले मुठीमा राखेको तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्व चयन प्रक्रियामा अब फेरबदल हुन्छ । यसपटक सबै दलका व्यवसायीहरुको सहभागीता भएको नेतृत्व समूह पाउने कुरा कुनै शंका छैन । व्यवसायीहरुको उत्सापूर्ण समर्थनले यही कुरा प्रष्ट हुन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस