दाङ, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त छलफल भएको हो । भेटवार्ताका क्रममा सदनलाई प्रभावकारी बनाउने र अवरोध हटाउने विषयमा छलफल भएको सभामुख घिमिरेले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।
सभामुख घिमिरेको सचिवालयले सदनबाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित नभएको विषयलाई सभामुख देवराज घिमिरेले गम्भीर रूपमा लिएको जानकारी दिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम घोटालामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय समिति बनाएर उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै आएको छ । कांग्रेसको उक्त मागमा सत्ता पक्ष तयार नहुँदा सदन अवरुद्ध हुँदै आएको छ ।
सोही कारण मंगलबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव भने संसदबाट पारित हुन सकेको थिएन । कांग्रेसले राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि सदनमा अवरोध नगरे पनि त्यसपछि भने अवरोध गर्दा उक्त प्रस्ताव पारित हुन नसकेको हो ।