काठमाडौ, ६ जेठ । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पारेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेले कुनै पत्रपत्रिका र अनलाइनमा समाचार आएको भरमा आफूलाई निरन्तर आरोप लगाएर प्रतिपक्षी दलले अन्याय गरेको बताए । उनले आफूलाई लागेको आरोपका सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै प्रहरीमा कतै पनि उजुरी नपरेको र अदालतमा पनि कतै मुद्दा दर्ता नभएको विषयलाई उठाएर दोषी करार गर्न खोज्नु आफूलाई मान्य नभएको बताए ।
उनले कसैले समाचार लेखेको भरमा छानविन समिति बनाउने हो ? भने विगतका कतिपय समाचारको विषयमा पनि सोच्न काँग्रेसलाई आग्रह गरे । उनले केही समाचारमा आएका विषयहरु समेत सदनमा राख्दै व्यक्ति केन्द्रीत भएर भन्दा विषय केन्द्रीत भएर छानविनको प्रकृया अघि बढाउनुपर्ने बताए ।
सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्ने विषयमा संसदीय छानविन समिति बनाउनुपर्ने माग राख्दै आएको काँग्रेसले समिति बनाउने विषय दलहरु सहमत भएपछि उनलाई संसदमा बोल्न दिने निर्णय गरेको थियो । संसदीय छानविन समिति बनाउने सैद्धान्तिक सहमति दलहरुबीच भएपनि कार्यदलले संसदीय समितिको टिओआर कस्तो बनाउने भन्ने विषय भने टुंगो लागाउन सकेको छैन ।
आइतबार पटक पटक बसेको कार्यदलको बैठकले टिओआरमा गृहमन्त्री लामिछानेको नाम राख्ने वा नराख्ने भन्ने विषयमा सहमति बनाउन सकेन । काँग्रेसले गृहमन्त्रीको नामै किटान गरेर जानुपर्ने अडान राखेको छ भने सत्तापक्षका सदस्यहरुले गृहमन्त्रीको नाम उल्लेख गर्न नहुने भनेको छ ।
