काठमाडौ, १७ जेठ । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण बिहीबार देशका केही भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखा अनुसार बिहान कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ ।
दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी प्रदेशको थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।