
दाङ, २० जेठ । दाङ घोराहीस्थित मालपोत र नापी कार्यालयमा आइतबार बिहानै देखि तनाब सृजना भएको छ । गुठी पीडित किसान नाराबाजी गर्दै ती कार्यालयहरुमा तालाबन्दी गर्न गएपछि झडप भएको छ । झडपका क्रममा प्रहरीले १० राउन्ड अस्रुग्यास हानेको छ । भडपका क्रममा प्रहरीसहित १९ जना घाइते भएका छन् । नौ जना किसान र दश जना प्रहरी घाइते भएका छन् । एक जना प्रहरीको दाँत भाँचिएको छ ।
स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न खोजेपछि झडप भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । गुठी पीडित किसान हुलहुल्लज गरि मालपोत र नापी कार्यालयमा जोर जवरजस्ती तालाबन्दी गर्ने खोज्दा प्रहरीले त्यो रोक्न खोजेको थियो । त्यसक्रममा प्रहरीले बल लाठी चार्ज गरेको थियो । त्यसपछि किसानले ढुँगा मुडा प्रहार गरेका थिए । स्थिती नियन्त्रणमा लिन दश राउन्ड अस्रुँग्यास प्रहार गर्नु परेको एसपी केसीले बताए । घाइते किसान र केही प्रहरीको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार जारी रहेको छ । गुठी पीडित किसानका अगुवाहरु भने प्रहरीले आफ्नो शान्तिपूर्ण कार्यक्रममा अनावश्यक बल प्रयोग गरेको आरोप लगाएका छन् ।
गत फागुनमा पनि गुठी पीडित किसानले घोराहीमा बिभिन्न चरणका आन्दोलनहरु गरेका थिए । उनीहरुले हलो जुवासहित सडक पर्दशन गरेका थिए । सडकमै सुतेर रित्तो थाल ठटाउँदै प्रर्दशन गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा रातदिन धर्ना दिएका थिए । गुठी पीडित किसाको त्यो आन्दोलनलाई त्यतिखेरको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जिल्ला नेताहरु समेत पुगेर साथ समर्थन गरेका थिए ।
एमालेका यसअघिका अध्यक्ष हुकुमबहादुर बस्नेत, अहिलेका उपाध्यक्ष तथा उतिखेरका सचिव मनोहर बुढाथोकी लगाएका नेताहरु जिल्ला नेताहरु गुठी पीडित किसानको आन्दोलनमा दिनुहुँ जस्तो सहभागी भएका थिए । मुलुकको सत्ता समिकरण परिवर्तन भएपछि भने सरकार र गुठी पीडित किसानका बीचमा काठमाडौंमा सहमती भएको थियो ।गुठी पीडित किसान अहिले फेरि भएको सहमती कार्यान्वय नभएको भन्दै मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका हुन । अहिले पनि किसानले मालपोत र नापी कार्यालयमा धर्ना जारी राखेका छन् ।