२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

खुकुरी प्रहारबाट घाइते युवकको भारतको लखनौमा उपचार हुँदै

दाङ, २१ जेठ । दाङको तुलसीपुरमा आइतबार बेलुका खुकुरी प्रहारबाट घाइते भएका युवकलाई थप उपचारका लागि भारतको लखनौ रिफर गरिएको छ । आफ्नै साथीहरूको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा स्थित अमृतनगर टोलका टोपबहादुर नेपाली घाइते भएका थिए ।

उनका दुवै खुट्टामा घुँडामुनि खुकुरी प्रहार भएको छ। घाइते नेपालीलाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रिफर गरिएकोमा बाँकेबाट पनि भारतको लखनौ रिफर गरिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । तुलसीपुर बजारबाट सँगै गएका साथीहरूले नेपालीलाई तुलसीपुर– १७ मानपुरमा खुकुरी प्रहार गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रिसिबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ ।

नेपाली माथि खुकुरी प्रहार घटनामा संलग्न भनिएका दंगीशरण गाउँपालिका – ५ का अन्दाजी २६ बर्षीय निर्मल बस्नेत र उनका साथीहरु भने फरार रहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्नेको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस