दाङ, २१ जेठ । लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री जोखबहादुर महराले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्दै सरकारले पूर्णता पाएको हो । सोमबार माओवादी केन्द्रबाट निर्वाचित कृष्णा केसीलाई मुख्यमन्त्री महराले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । केसी तेस्रो पटक मन्त्री भएकी छन् ।
उनी एमाले नेतृत्व र काँग्रेस नेतृत्व सरकारमा पनि मन्त्री भएकी थिइन् । एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा करिब तीन महिना विनाविभागीय मन्त्री भएकी थिइन्, भने कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री हुँदा शहरी विकास मन्त्री भएकी थिइन् । उनी बाँकेबाट दोस्रो पटक प्रदेश सांसदमा निर्वाचित भएकी हुन् । केसी मन्त्रीमा नियुक्त भएसँगै प्रदेशमा १२ सदस्यीय मन्त्री मण्डल भएको छ । यस मन्त्री मण्डलमा एमालेका ५ , माओवादी केन्द्रका मुख्यमन्त्री सहित २ , नागरिक उन्मुक्ति पार्टीका एक, जनता समाजवादी पार्टी (जसपा)का एक, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्रबाट निर्वाचित एक जना मन्त्री छन् ।
एमालेका चेतनारायण आचार्य आर्थिक मामिला मन्त्री , भूमिश्वर ढकाल सहरी विकास तथा खानेपानी मन्त्री , दिनेश पन्थी आन्तरिक मामिला तथा कानुन मन्त्री, अर्जुनकुमार केसी वन तथा वातावरण मन्त्री , रत्नबहादुर खत्री सामाजिक विकास मन्त्री भएका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुन स्वास्थ्य मन्त्री , जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री , नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र स्वतन्त्रका खड्ग बस्नेत पर्यटन, उद्योग तथा सहकारी मन्त्री भएका छन् ।