२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

भारतमा ग्यास विस्फोट हुदाँ एकै परिवारका ५ नेपालीको मृत्यु

काठमाडौं, २२ जेठ । भारतको कर्नाटक राज्यको बेंग्लुरुमा रहेको एहलंकामा खाना पकाउने ग्यास लिक हुँदा भएको घटनामा ज्यान गुमाउने नेपालीको सङ्ख्या ५ जना पुगेको छ । घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए ।

घाइतेमध्ये ३२ वर्षीय मदन बोहोराको अस्ति आइतवार राति र उहाँकी छोरी ११ वर्षीया निताको हिजो बिहान ज्यान गएको हो । त्यसअघि उहाँकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिवार बेलुका ज्यान गएको थियो । मदनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको घटना भएकै दिन अघिल्लो बुधवार ज्यान गएको थियो ।

घटनापछि सबैको स्थानीय भिक्टोरिया अस्पतालमा उपचार भइरहेको थियो । गएको बुधवार राति सबै परिवार कोठामै रहेका बेला खाना पकाउने क्रममा ग्याँस विस्फोट भएको थियो । मदनको परिवार ६ वर्षदेखि भारतमा बस्दै आएको थियो । मदन बेंग्लुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम र उहाँकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीलाई स्थानीय विद्यालयमा पढाउँदै आएका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस