२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

हिमाल सफा गर्दा चारवटा शव फेला

काठमाडौ, २३ जेठ । सफा हिमाल अभियान-२०२४ अन्तर्गत ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन गरिएको छ । बुधबार नेपाली सेनाले काठमाडौंमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकुल मौसम तथा विषम परिस्थितिका बाबजुत यस अभियानको दौरान करिव ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको बताए । 

उनले ५५ दिनसम्म सञ्चालित अभियानमा अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्ने कुराले मात्र अभियानको महत्व उजागर गर्न नसक्ने उल्लेख गरे । उनले अभियानको सञ्चालनपूर्व र सञ्चालनपश्चात भएका केही उपलब्धिहरूले अन्तर्राष्ट्रिय रुपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको बताए । 

प्रधानसेनापति शर्माले झण्डै एक लाख फौज भएको देशले १० हजार फौजलाई वातावरण संरक्षणमा प्रयोग गर्नु उदाहरणीय काम भएको बताए । उनले प्रकृतिक संरक्षण कार्यमा सेना खटाउने कुरा बिरलै देशमा मात्रै हुने गरेको बताए । सफा हिमाल अभियानले आवश्यक पर्दा उच्च हिमाली क्षेत्रमा हुनसक्ने विपद् तथा अन्य अवस्थामा परिचालन हुनुपरे नेपाली सेनालाई तालिम पनि दिएको उल्लेख गरे । सफाइ अभियान सञ्चलन गर्नु जटिल, चुनौतीपूर्ण र शाहसिक कार्य भएको बताए । प्रधानसेनापति शर्माले धेरैजसो हिमालहरू अहिले पग्लिने चरणमा रहेको बताए । नेपाली सेनाले चैत २९ मा अभियानको सुरुवात गरेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस