२०८२ जेष्ठ ४ गते शुक्रवार | 2025 May 16th Friday

बजेटमा सरकारले एकलौटी गरेको कांग्रेस नेताहरुको आरोप

दाङ, ११ असार । दुवै तहका सरकारले ल्याएको बजेटमा आवश्यकताका आधारमा नभएर पहुँचका आधारमा योजना हालिएको नेपाली कांग्रेसका सांसद पूर्व मन्त्री दीपक गिरि र  लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताएका छन् । रिपोर्टस् क्लब दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको बजेटमा दाङ विषयक बहस कार्यक्रममा नेताद्वयले यस्तो बताएका हुन । बजेट संहिताको उलङ्घन गर्दै संघ र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई कनिके योजनाको सँगालो मात्रै बनाए सांसद गिरीको आरोप छ । जिल्लाका गौरवका आयोजनालाई कुनै पनि सुनुवाइ बजेटले नगरेको भन्दै उनले बहुप्रतिक्षित र अत्यन्त आवश्यक प्रादेशिक राजधानीको एक मात्र टरिगाउँ विमानस्थलको स्तरोन्नतिमा बजेटको हिस्सा नछुट्टयाएको समेत बताए ।

उनले दुर्घटना निम्त्याउने एम्बुस जस्तै छियाछिया घोराही—तुलसीपुर चारलेन सडक स्तरोन्नतिलाई पनि संघीय सरकारले जारी गरेको बजेटमा कुनै सम्बोधन नगरिएको बताए । उनले भने,‘ एयरपोर्ट स्तरोन्नतिका लागी अहिले सम्म पनि बजेटले अङ्क बोलेको छैन, चारलेन सडकको स्तरोन्नतिका सन्दर्भमा पनि आगामी आर्थिक वर्षको बजेटमा कुनै सम्बोधन भएको छैन  । यसले गर्दा अहिले सम्म उधारो एयरपोर्ट र अँध्यारो चारलेन जस्तै भएको छ । ’ त्यसैगरी उनले गौरवको योजना भनिएको एमसिसी परियोजनाको कार्यक्षेत्र पनि खुम्च्याइएका बताए । उनले भने,‘ सुरुमा पूर्वपश्चिम राजमार्गको धानखोला देखि शिवखोला सम्म एमसिसि परियोजनाले सडक स्तरोन्नति गर्ने योजना थियो, तर पछि यो खुम्चिएर धानखोला देखि लमही सम्म मात्र भएको सुन्नमा आएको छ । यसले जिल्लाको समृद्धि हासिल हुन सक्दैन । अहिलेको सरकारले ल्याएको विषयमा दाङको मात्र नभएर मुलुककै अवस्था सोचनीय हुने रहेको छ ।’

उनले आलुलाई विकासको मामिलामा एक्सक्लुसिभ नेता मान्ने बताउँदै बजेटमा अङ्क उल्लेख नभएपनि तुलसीपुरको एयरपोर्टलाई अन्य विकल्पबाटै पनि सम्बोधन गर्न सरकारलाई दवाव दिने पनि उनले बताए । त्यसैगरी चारलेन सडक स्तरोन्नतिका सन्दर्भमा सरकारले  नै भारतको एक्जिम बैंकमा आग्रह नगरेको उल्लेख गर्दै सरकारका तर्फबाट एक्जिम बैंकलाई तत्काल पत्राचार गर्न लगाएर चारलेन सडक स्तरोन्नतिका लागी ठेक्का आह्वान गर्न आफूले संसद्‌मा दवाव दिने पनि उनको भनाइ छ । यस्तै उनले वर्तमान संविधान संसोधन गरेर मिश्रित निर्वाचन प्रणालीलाई खारेज गर्नुपर्ने समेत बताए । उनले भने,‘ जव सम्म मिश्रित प्रणाली रहिरहन्छ, त्यो वेला सम्म मुलुकले स्थायित्वको सरकार पाउने छैन, पटके सरकार रहिरहँदा सत्ता टिकाउनकै लागी मुलुकको समय बरबाद भैरहन्छ । स्थायी सरकारका लागी संविधान संसोधन गरेर मिश्रित निर्वाचन प्रणाली खारेज गर्नु पर्छ  ।’

रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफ्नो कार्यकालमा बहुवर्षीय योजना अन्तरगत ९६ वटा बाटो बन्न लागेको बताएका थिए । उनले विकासका काममा कन्जुस्याइँ नहुने र प्रदेशबाट दाङको लागि प्रसस्त बजेट बिनियोजन भएकोले सबै मिलेर विकास निर्माणका लागि काम गर्नुपर्ने बताएका थिए । साथै उनले सिङ्घिया सरकारले एयरपोर्टका लागी २० करोड रुपैयाँ विनियोजन गरेको पनि दावी गरे । उनले भने, ‘एयरपोर्टको डिपिआर ३ अर्बको छ, २० करोड बजेटले बहुवर्षीय योजनामा समेत लैजान मिल्दैन । बहुवर्षीय लैजान कम्तिमा पनि १५ प्रतिशत बजेट चालु आर्थिक वर्षमै विनियोजन भएको हुनुपर्दछ । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सांसद शंकर गिरीले नेपालको राजनीति अस्थिरमा रुमलिएको बताएका थिए ।

उनले आफू सांसद हुँदा दाङको शितलपुर मन्दिर सहित २८ वटा मठ मन्दिरमा बजेट बिनियोजन गरेको र निर्माणको कामलाई अगाडि बढाएको बताए ।यस्तै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले जनताका आधारभुत चाहनालाई आत्मसात गरि अगाडि बढ्न आग्रह गरे । व्यक्ति राम्रो होइन, असल हुनुपर्छ भन्ने बिपीको बिचारलाई पछ्याउदै कांग्रेस अघि बढ्न जरुरी जोड दिए । पछिल्लो समयमा राष्ट्रियता, स्वतन्त्रता र सामाजिक न्याय कमजोर भएको बताउँदै उच्च नेतृत्व तथा जनताका प्रतिनिधिहरू यसमा गम्भीर बन्न पनि सभापति डाँगीको आग्रह थियो । सोही अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघको हालै सम्पन्न अधिवेशनमा विजयी भएका सम्पूर्ण पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरिएको थियो । प्रमुख अतिथि गिरीले नवनिर्वाचित पदाधिकारीहरूलाई खादा लगाएर सम्मान गर्दै यस क्षेत्रको समग्र समृद्धिका लागी हातेमालो गर्न पनि नयाँ नेतृत्वलाई आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण रिपोटर्स क्लब दाङका महासचिव विमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस