
दाङ, २० असार । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले मानव विकास नहुँदा सम्म अरु विकासको महत्व नहुने बताए । बुधबार शान्तिनगर ७ खैरेनीमा ३ दिने पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले पक्की सडक, ठूला भवन भएर मात्र विकास नहुने भन्दै सबै भन्दा पहिला मानव विकास हुनु पर्ने कुरामा जोड दिए । उनले ३ दिन पत्रकारिता तालिममा सहभागीहरूले धेरै कुराहरू सिकेको भन्दै त्यो व्यवहारमा लागू गर्न समेत आग्रह गरे ।
उनले भने,‘ तपाईँहरूलाई यो तिन दिनको तालिम पर्याप्त नहोला । तर, यसबाट धेरै कुराहरू सिक्नु भएको होला, भन्ने हामीले विश्वास लिएका छौँ । अब तालिम सिकेपछि गाउँ ठाउँमा रहेको कुराहरू बाहिर ल्याउनुहोस । तर, सत्यतथ्य हुनुपर्छ ।’ यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले गाउँपालिकाले महिला तथा युवाहरूको लागि विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आइरहेको र आगामी दिनहरूमा पनि गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शान्तिनगर ७ का वडाध्यक्ष तारा बहादुर वलीले वडाका युवा / युवतीहरूको नेतृत्व विकासको लागि वडाले सहयोग गरेको बताए । उनले भने,‘ यहाँका युवा / युवतीहरूको क्षमता विकास होस्, भन्ने उद्देश्यले नै हामीले आर्थिक सहयोग गरेका थियौँ । तपाईँहरूले पनि तालिममा धेरै कुराहरू सिक्नु भएको होला । आगामी दिनहरू पनि विभिन्न सीप मूलक तालिमहरू दिने योजना बनाएका छौँ ।’
शान्तिनगर गाउँपालिका ७ को आर्थिक सहयोग तथा रिसर्च राप्ती मिडिया प्रालि तुलसीपुर दाङको आयोजनामा ३ दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको थियो । प्रालिका प्रबन्धक विकास डाँगीको अध्यक्षतामा भएको तालिममा प्रशिक्षकहरू नारायण खड्का, दिप्तीशिखा चौधरी, राकेश बस्नेत, अमर क्षितिज भण्डारी, एकराज भण्डारी, बसन्त पौडेल, यज्ञ बहादुर बूढा रहेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार एचआर मगरले गरेका थिए । तालिममा ३५ जना युवायुवतीहरूको सहभागिता रहेको थियो ।