काठमाडौ, २ साउन । आषाढ शुक्ल एकादशी अर्थात् बुधबार हरिशयनी एकादशी । सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन् । बुधबार ३१/४५ घडीपला एकादशी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ ।
आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ । यसैगरी यो अवधिमा पर्ने आठ एकादशीलाई विशेषरूपमा लिइन्छ ।