
काठमाडौ, ६ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन । १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि आइतबार मनाइँदैछ । आइतबार २६ घडी ५१ पला अर्थात अपराह्न ४ बजेर ६ मिनेटसम्म पूर्णिमा तिथि छ ।
गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ । मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ ।
वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु) को मुख्य भूमिका रहने मानिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ । व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ । निष्काम भावले विद्या प्रदान गर्नेलाई गुरु भनिन्छ ।