दाङ, ११ साउन । दाङ जिल्लाभरिका उद्योग वाणिज्य सङ्घहरूले स्थापना गरेको करदाता सहायता कक्षबाट गत आर्थिक वर्षमा १३ हजार बढि सेवाग्राहीले सेवा लिएका छन् । आन्तरिक राजश्व कार्यालय तुलसीपुरको गेट नजिकै २ वर्ष अगाडि सेवाग्राहीको सहजताको लागि सहायता कक्ष स्थापना गरिएको थियो । न्यूनतम शुल्कमा सहज रुपमा सेवा पाउँदा नागरिकहरूलाई पनि सहज भएको छ । तुलसीपुर ७ का मन बहादुर वलीले सहायता कक्षले आफूहरू जस्ता सेवाग्राहीलाई सहज भएको बताए । पहिला सहायता कक्ष नहुँदा बाहिर महँगो पैसा तिरेर कागजपत्र बनाउनु पर्ने भएयता पनि अहिले न्यूनतम शुल्कमा पाउँदा धेरै सहज र खुशी लागेको बताए ।
यस्तै उनले यस्ता सहायता कक्षहरू अन्य सरकारी कार्यालयहरूमा भएमा सेवाग्राहीलाई सहज रुपमा सेवा लिन सहज हुने बताए । यस्तै घोराही ८ का बसन्त सेजुवालले पनि सहायता कक्षले सेवा लिन धेरै सहज भएको बताए । उनले पनि पहिला सेवा लिँदा बाहिर २ / ४ सय दिनु पर्ने भएयता पनि सहायता कक्षमा ५० देखि एक सय मात्र लाग्ने भएयता पनि यो शुल्क अझ कम भए सहज हुने बताए । सहायता कक्षमा फरक क्षमता, दृष्टिविहीन भएका करदाताहरूको हकमा निःशुल्क र नयाँ दर्ताको लागि महिला करदाताहरूलाई ५० प्रतिशत छुट दिने व्यवस्था रहेको कक्षका कर्मचारी भेषनाथ पाण्डेले बताए ।
कक्षबाट सेवा लिए वापत ५० रुपैयाँदेखि एक सय रुपैयाँ सम्म शुल्क लाग्ने र आफूहरू ३ जना कर्मचारीहरू रहेको उनको भनाइ छ ।यस्तै उनले बाहिरको भन्दा एकदमै न्यून शुल्कमा सेवा दिने गरेको बताए । उनले भने,‘ बाहिर एउटा फोटो कपी गर्दा १० रुपैयाँ लिइन्छ । तर, हामीले ५ रुपैयाँ मै गरिदिन्छौँ । बाहिर १० को टिकटलाई १५ रुपैयाँ लिन्छ, हामीले जुन मूल्यमा आएको हो ? त्यसैमा दिने गरेका छौँ । ’
दुई वर्षदेखि जिल्लाभरको उद्योग वाणिज्य सङ्घहरूको पहलमा तुलसीपुर उद्योग वाणिज्य सङ्घको व्यवस्थापन स्थापना भएको सहायता कक्षबाट गत आर्थिक वर्षमा मात्र १३ हजार ४९४ जना व्यवसायीहरूले सेवा लिएको सङ्घका अध्यक्ष विनिल केसीले बताए । एकदमै न्यूनतम शुल्क लिएर व्यवसायीहरूले सेवा दिइरहेको उनको भनाइ छ । यसले व्यवसायीहरूलाई धेरै सहजताको भएको समेत उनले बताए । धेरै जसो सेवाहरू ५० रुपैयाँ दिने गरेको भन्दै उनले बाहिरको तुलनामा न्यूनतम शुल्क लिएर सेवा दिँदै आइरहेको बताए ।