दाङ,१३ साउन । नेपाल कम्युनिस्ट पार्टी दाङले घोराहीमा धान रोपाइँ सुरु गरेको छ । पार्टीले शनिबार घोराही १६ मा रहेको करौती डाँडामा रहेको साढे तीन बिघा जमिनमा धान रोपाइँ सुरु गरेको हो ।
पार्टीका दाङ जिल्लाका इन्चार्ज सविन सीको अध्यक्षता एवं पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीको विशेष उपस्थितिमा धान रोपाइँ कार्यक्रमको उद्घाटन गरिएको थियो । पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले पार्टीको उत्पादनसम्बन्धी नीति अन्तर्गत आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ता बनाउने उद्देश्यले देशभर करिब दुई सय बिघा जमिनमा विभिन्न खालका उत्पादनका कार्यक्रमहरू गरेको बताए ।
उनले पार्टीका नेता कार्यकर्ताहरूलाई उत्पादनमा जोडिनका लागि पार्टीले हरेक वर्षको असार १० गतेदेखि ३० गतेसम्म बिदा दिने गरेको भन्दै यो वर्ष कतै छिटो र कतै ढिलो वर्षा भएको हुँदा उत्पादनका कार्यक्रमहरू कतै अघि र पछि भएको जानकारी दिए । यो उत्पादन केबल हामीले आफूलाई आत्मनिर्भर बनाउनु मात्र होइन, उनले भने यसको दुरगामी महत्त्व छ । यसको दुरगामी दृष्टिकोण छ । हामीले पहिलो कुरा त आफूलाई र पार्टीलाई आत्मनिर्भर बनाउने हो र दोस्रो कुरा पार्टी र हामी आत्मनिर्भर भयौं भने हामीले कुनैपनि पुँजीपति वर्गको अगाडि हात पसार्नु पर्दैन ।
पार्टीलाई दलाल परिणतबाट जोगाउन र क्रान्तिलाई जोगाउनका लागि पार्टीले उत्पादनको नीति लिएको र त्यही नीतिले नै अन्तमा पार्टीको क्रान्ति सम्पन्न गर्ने पार्टीको ठहर रहेको इन्चार्ज सन्तोषको भनाइ छ । यो उत्पादन नीतिलाई पार्टीले क्रान्तिको मूल नीतिमै राखेको र देशमा संसदीय दलाल व्यवस्थालाई फालेर देशलाई समाजवादी क्रान्ति रूपान्तरण गर्ने समेत उनको जोड थियो । त्यस्तै पार्टीका दाङ जिल्ला इन्चार्ज सविन सीले धान रोपाइँ कार्यक्रममा सहभागी भएका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई धन्यवाद दिँदै पार्टीले घोराही, तुलसीपुर र देउखुरी गरि तीन क्षेत्रमा उत्पादनको कार्यलाई अगाडि बढाएको बताए ।
उनले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता, आत्मनिर्भर देश र आत्मनिर्भर अर्थतन्त्र बनाउने उद्देश्यसहित सिङ्गो पार्टी उत्पादन कार्यमा जोडिएको स्पष्ट पारे । पार्टीले लिएको उत्पादनको नीति अनुसार घोराहीमा तीन बिघा क्षेत्रफलमा धान रोपाइँ हुन लागेको र करिब तीन सय फलफूल जन्य बिरुवा रोपेको समेत इन्चार्ज सविनको भनाइ छ । त्यसैगरी पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सीले पार्टीले जिल्लाका विभिन्न ठाउँमा मौसमी उत्पादन गर्दै आइरहेको बताए । उनले मौसमी उत्पादनको तरिकालाई दीर्घकालीन बनाउनका लागि पार्टीले सहकारी तथा कृषि फर्म सञ्चालन गरेको कुरामा जोड दिए ।
हामीले मूलतः पार्टीको नीति श्रम, उत्पादन र आत्मनिर्भरता विशेष जोड दिएर उत्पादन सम्बन्धिका कार्यलाई निरन्तर रुपमा अगाडि बढाइरहेको उनको भनाइ छ । पार्टीले घोराही ६ गुरुवागाउँमा रहेको जयशेयर माविको ६ बिघा जमिन १० वर्षका लागि लिजमा लिएर गतवर्ष देखिनै निरन्तर रुपमा मौसमी तथा बेमौसमी खेती गर्दै आइरहेको छ । धान रोपाइँ कार्यक्रममा पार्टीका नेताकार्यकर्ता, जनवर्गीय संगठन र स्थानीय जनताको उल्लेखनीय सहभागिता रहेको थियो ।
सभामुख घर्तीलाई स्वागत
त्यस्तै पार्टीको उत्पादन केन्द्र अवलोकन गर्न आएका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पार्टीले स्वागत गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज सविन सीलगायले सी बहुउद्देश्यीय तथा कृषि पशुपंक्षी फर्म अवलोकन गर्न आएका सभामुख घर्ती फूलको माला र गुच्छाले स्वागत गरेका थिए ।