२०८१ असोज २० गते आइतवार | 2024 October 6th Sunday

लुम्बिनी प्रदेशमा मन्त्री अझै जिम्मेवारी पाएनन्

दाङ, १७ साउन । लुम्बिनी प्रदेशमा नियुक्त भएका मन्त्रीहरूको अहिले सम्म पनि कार्यविभाजन हुन सकेको छैन । सरकार गठन भई सपथ ग्रहण गरेको एक हप्ता बितिसक्दा पनि मन्त्रीहरू अहिले सम्म पनि जिम्मेवारी विहीन भएका छन् । अहिले सम्म पनि मन्त्रीहरूको कार्यविभाजन हुन नसक्दा प्रदेश सरकारको कार्यसम्पादन प्रभावित भएको छ । प्रदेश सरकारको छैटौँ मुख्यमन्त्रीको रुपमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य साउन ७ गते नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले साउन ९ गते सपथ ग्रहण गर्दै पहिलो चरणमा काँग्रेस र एमाले सहितको ९ सदस्यीय मन्त्री मण्डल गठन गरेका थिए । मुख्यमन्त्री आचार्य नेतृत्व सरकारमा एमालेले मुख्यमन्त्री सहित ५ मन्त्री छन्, भने काँग्रेसले पनि ५ मन्त्री नै पाएपनि पहिलो चरणमा ४ मन्त्री रहेका छन् । नियुक्त भएर सपथ ग्रहण समेत गरिसकेका मन्त्री भने अहिले सम्म जिम्मेवारी पाएका छैन् । भरखरै मात्र भएको प्रदेश प्रमुख परिवर्तन र काँग्रेसबाट एक जना र अन्य २ साना दलबाट मन्त्री नियुक्त गरेर मात्र मन्त्रीहरूको कार्यविभाजन गर्ने मुख्यमन्त्रीको तयारी रहेको सरकार प्रवक्ता एवं  बिना विभागीय मन्त्री दिनेश पन्थीले बताए ।

यस्तै उनले अहिले दुई दलको संयुक्त सरकार बनेको हुँदा एउटा सानो कार्यदल गठन भएको र त्यसले सरकार कसरी सञ्चालन गर्ने बारेमा गृहकार्य गरिरहेको समेत बताए । उनका अनुसार अर्को कार्यविभाजन र बाँकी रहेका मन्त्रालयहरूको पूर्णता दिने र कार्यविभाजन सहितको समझदारी अनुसार सरकार अगाडि बढेको छ । मुख्यमन्त्री सहित अन्य मन्त्रीहरूले समेत सपथ ग्रहण गरिसकेको अवस्थामा कार्यविभाजनमा ढिलाई गर्न नहुने सरकारमा सहभागी मन्त्री र सत्तासाझेदार दलहरूले बताएका छन् । उनीहरूले सङ्घीय सरकारले प्रदेश प्रमुख परिवर्तन गरेको र नवनियुक्त प्रदेश प्रमुखले सपथ ग्रहण नगरेका कारण थप मन्त्री नियुक्त र कार्यविभाजनमा ढिलाई भएको भन्दै सरकारको बचाउ गरेका छन् । यस्तै एमालेबाट बिना विभागीय मन्त्री बनेका खेम सारुले पनि साउन १६ गतेसम्म कार्यविभाजन टुङ्गो लाग्ने भन्ने भएयता पनि प्रदेश प्रमुख परिवर्तन भएका कारण ढिला भएको बताए ।

उनले  नयाँ प्रदेश प्रमुखले बिहीबार सपथ ग्रहण लिने कुरा रहेको र त्यसपछि केही मन्त्रीहरूलाई पनि सपथ ग्रहण गराउने र मन्त्री भइसकेकाहरूको जिम्मेवारी प्रमाणित गर्न बाँकी रहेको हुँदा एक / दुई दिनभित्रमा मन्त्रीहरूले जिम्मेवारी पाउने बताए । यस्तै उनले आफूहरू मन्त्रीमा नियुक्त पनि जिम्मेवारी नपाएको विषयमा भने कतिपय राजनीतिक विषयहरू रहेका हुँदा भर्खरै नयाँ सत्ता समीकरण भएको हुँदा त्यसलाई अँगाल्दै जानु पर्ने परिस्थिति रहेको समेत बताए ।केही दिनमा हुने कुरा भएकाले आफूहरू अहिलेसम्म जिम्मेवारी नपाउँदा पनि कुनै हतारमा नभएको बताए । यस्तै नेपाली काङ्ग्रेसकी प्रदेशसभा सदस्य सुशीला बादीले पनि  प्रदेश प्रमुखको नियुक्त भर्खरै भएको हुँदा मन्त्रीहरूले जिम्मेवारी नपाएको बताइन् । उनले प्रदेशमा अझै मन्त्रीहरू नियुक्ति हुन बाँकी रहेको हुँदा सबै मन्त्रीहरू नियुक्ति भएपछि जिम्मेवारी दिने तयारी रहेको समेत बताइन् ।

उनले यसलाई जतिसक्यो छिट्टो गर्नेमा काङ्ग्रेस लगायत अन्य दलहरूको प्रयास रहेको समेत बताइन् । यस्तै जनता समाजवादी नेपाल पार्टीकी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले काङ्ग्रेस र एमालेबाट ८ जना विना विभागीय मन्त्री नियुक्ति भइसकेको र अन्य साना कुन कुन दललाई मन्त्री दिने भन्ने कुराको टुङ्गो नलागेको हुँदा ढिलाइको एउटा कारण भएको बताइन् । उनका अनुसार ढिलाई हुनुको अर्को कारण प्रदेश प्रमुख  परिवर्तन पनि हो । नयाँ प्रदेश प्रमुखले सपथ लिएपछि सरकारले पूर्णता पाउने भन्ने बारेमा आफूले जानकारी पाएको उनको भनाइ छ । यस्तै उनले सङ्घमा पार्टीले  प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै प्रदेशमा चाहिँ पार्टीको निर्देशन अनुसार विश्वासको मत दिने नदिने बारेमा टुङ्गो लाग्ने बताइन् ।

लुम्बिनीमा नयाँ सरकार गठन भएपनि मन्त्रीहरूका कार्यविभाजन समयमा नहुँदा मन्त्रालयहरु काम विहीन भएका छन्, भने साउन महिनामा मन्त्रालयहरुमा खासै काम नपर्ने भएकोले मन्त्रालयहरुले मन्त्री नपाउँदा काममा कुनै बाधा, अवरोध नहुने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राम बहादुर केसीले बताए । कतिपय फाइलहरु आफूले सिधैँ मुख्यमन्त्री कहाँ लगेर स्वीकृत गराएको समेत उनले बताए । उनले भने,‘ मुख्यमन्त्रीसँग नै अहिले सबै मन्त्रालय भएको हुँदा र अहिले मन्त्रालयमा मन्त्री नहुँदा मैले सिधैँ मुख्यमन्त्रीसँग फाइलहरु स्वीकृत गराएको छु । हामीलाई काममा कुनै बाधा, अवरोध भएको छैन् ।’ यस्तै कर्मचारीहरुले बैशाख देखि असारसम्म २४ घन्टै काम गर्ने हुँदा साउन महिनामा कर्मचारीहरु विदा जाने हुँदा पनि मन्त्रालयमा मन्त्री नहुँदा काममा अवरोध आएको अवस्था प्रदेशम नभएको उनले बताए ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस