
काठमाडौ, २१ साउन । बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेको खबर सार्वजनिक भएको छ । हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन । उनीहरूले हसिनाको राजीनामा माग्दै आएका थिए । सरकारविरोधी आन्दोलनका क्रममा हिजो मात्रै कम्तीमा ९० जनाको मृत्यु भएको थियो ।
स्रोतहरूका अनुसार हसिना र उनकी बहिनी शेख रेहना बङ्गभवनबाट हेलिकप्टर चढेर भारत गएको बुझीएको छ । केही साताअघि ‘कोटा प्रणाली’ खारेजीको माग गर्दै प्रदर्शन थालेका विद्यार्थीहरूको आन्दोलनमाथि चरम दमन भएपछि प्रधानमन्त्रीको राजीनामाको मागलाई मुख्य एजेण्डा बनाएका थिए । बाङ्ग्लादेशमा हिंसा सुरु भएपछि अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको तथ्याङ्क समाचारसंस्था एएफपीले सार्वजनिक गरेको छ ।
प्रकाशित मिति : २०८१ साउन २१ गते सोमवार