२०८२ जेष्ठ ३१ गते बिहिवार | 2025 June 12th Thursday

इप्रका तुलसीपुरमा गत आर्थिक ५४३ मुद्दा दर्ता, ३७४ फर्छ्यौट

दाङ, २२ साउन । इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत आर्थिक ५४३ वटा मुद्दा दर्ता भएका छन् । ति मुद्दाहरू मध्य ३७४ वटा फर्छ्यौट भएको र बाँकी १६९ वटा रहेको  सोमबार इप्रका तुलसीपुरले आर्थिक वर्ष  २०८० / ८१ को कार्य सम्पादन समीक्षा बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराए । उनका अनुसार त्रिवर्षीय तथ्याङ्क हेर्दा मुद्दाको सङ्ख्याहरू बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८ / ७९ मा विभिन्न अपराध  शीर्षकका ४२६ वटा दर्ता भएका थिए, सबै मुद्दा फर्छ्यौट भएका थिए । यस्तै आर्थिक वर्ष २०७९ / ८० मा ४ सय मुद्दा दर्ता भएका थिए,  भने  २५९ फर्छ्यौट हुँदा १४१ वटा बाँकी रहेका थिए ।

 गत आर्थिक वर्षमा ज्यान सम्बन्धी १०२ वटा, आत्महत्या सम्बन्धी ७७ वटा, चोरी सम्बन्धी ३९ वटा, सङ्गठित तथा आर्थिक अपराध १७ वटा, सार्वजनिक शान्ति, सार्वजनिक हित, सुरक्षा र नैतिकता विरुद्धका कसुर सम्बन्धी १३० वटा,  महिला तथा बालबालिका सम्बन्धी ७८ वटा, सवारी सम्बन्धी ३१ वटा र विविध ५९ मुद्दा दर्ता भएको प्रमुख डीएसपी पोखरेलले बताए । यस्तै उनका अनुसार ५४३ वटा अपराध मुद्दा मध्य अपराध पीडितको सङ्ख्या ३७३ जना र ५७३ जना अभियुक्तको सङ्ख्या रहेको  थियो । ५७३ जना अभियुक्तहरू मध्य ५३४ जना पक्राउ परेको र ३९ जना  फरार रहेको उनले बताए । यसैगरी आर्थिक वर्षमा फरार प्रतिवादीहरू मध्ये १५ पुरुष र ८ महिला गरी जम्मा २३ फरार प्रतिवादीहरू पक्राउ गरिएको समेत उनले बताए ।

उनका अनुसार  विगत आर्थिक वर्षदेखि पेन्टिङमा रहेका ४७ वटा २० वर्षे  मुद्दाहरू मध्ये गत आर्थिक वर्षमा १३ वटा मुद्दा फर्छ्यौट गरिएको छ । यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा सम्बन्धी गत   वर्ष ९३२ वटा निवेदन प्राप्त भएका थिए । ति मध्य घरेलु हिंसाका ५० वटा निवेदन परेकोमा ५० वटा मिलापत्र भएको उनले बताए । यस्तै सामाजिक हिंसामा ४४८ निवेदन प्राप्त हुँदा ३६३ मिलापत्र भएको र ८५ वटा बाँकी रहेका छन् । खोजतलास सम्बन्धी ४३४ निवेदन प्राप्त भएकोमा ३६७ वटा मिलापत्र भएको र ६७ वटा बाँकी रहेको उनले बताए । यस्तै इप्रका तुलसीपुरले सामुदायिक प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न २२९ वटा सचेतना मूलक कार्यक्रम गर्दा ९ हजार ५१० जना नागरिकहरू सहभागि रहेका थिए । 

यस्तै डीएसपी पोखरेलका अनुसार शान्ति सुरक्षा कायम गर्न इप्रका तुलसीपुरले विभिन्न प्रयासहरू गरिरहेको छ  ।  संवेदनशीलतालाई पहिचान गरी २४ सै घण्टा पैदल गस्ती, मोबाइल, क्यूआरटी , आकस्मिक चेकजाँच स्थायी र अस्थायी पिकेट आदि ड्युटी परिचालन गरिरहेको समेत उनले बताए ।  यस्तै आपराधिक क्रियाकलाप नियन्त्रण र आपराधिक सूचना सङ्कलनका लागि सिएपी अन्तर्गत सूचना सङ्कलन संयन्त्र परिचालन गरिएको समेत उनले बताए । यस्तै अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने  ४५ वटा सवारी साधन नियन्त्रणमा लिई ९ लाख ७९ हजार ८८४ राजश्व जम्मा भएको भएको समेत उनले बताए । 

यस्तै उनले सर्वसाधारण नागरिकहरूको प्रहरी कामकारबाही , सार्वजनिक शान्ति सुव्यवस्था प्रति कुनै गुनासो र उजुरी भए सो गुनासो र उजुरी व्यवस्थापनको लागि सिधै गुनासो व्यवस्थापन अधिकृत समक्ष पुर्याउन को लागी कार्यालयको गेटमा क्यूआरटी कोडको व्यवस्था गरिएको समेत बताए । उनले यस कार्यालय मातहत सबै प्रहरी युनिट हरु संग सहज रुपमा सम्पर्क र समन्वय गर्नको लागि १९ वटा यूनिटहरुमा सीयुजी फोनको व्यवस्था गरिएको समेत बताए । 

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस