काठमाडौ, २८ साउन । रोल्पा थबाङका हेनबहादुर मल्लले चिकित्सकीय अनुसन्धान प्रयोजनका लागि मृत्युपछिको शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई दान गरेका छन् । चिकित्साशास्त्रका विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउन मृत्युपछिको शरीर दान गरेको उनले बताए ।
लामो समय कम्युनिस्ट राजनीतिमा लागेर पछिल्लोपटक सामाजिक क्षेत्रमा क्रियाशील मल्लले आफ्नै चाहनामा शरीर दान गरेको बताए । ‘जीवनमा धेरै काम गर्ने चाहना हुन्छ,’ उनले भने, ‘बाँचुन्जेल जेजति काम समाजका लागि गरिन्छ, मृत्युपछि आफ्नो शरीरको प्रयोगबाट नयाँ विद्यार्थीलाई अनुसन्धान गर्न मद्दत मिलोस् भनेर शरीर दान गरेको हुँ ।’
साउनको तेस्रो साता उनी आफैं महाराजगन्जस्थित शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन प्रतिष्ठानका विभागीय प्रमुख उपप्राध्यापक डा अनुसुया श्रेष्ठसमक्ष पुगेर शरीर दान गरेका हुन् ।
रुकुममा जन्मेका मल्ल केही वर्षयता रोल्पाको थबाङमा बस्दै आएका छन् । गैरसरकारी संस्था बीडीए संस्कृति संरक्षण केन्द्रका संयोजक रहेका मल्लले मृत्युपछिको भौतिक शरीर दान गर्नुअघि परिवारसँग सल्लाह पनि लिएको बताए । भौतिक शरीर दान गरेकाले मृत्युपछि शरीरलाई परिवारले नै शिक्षण अस्पताल महाराजगन्जमा पुर्याउनु पर्नेछ । ‘मृत्युपछि मृत शरीरलाई सम्बन्धित परिवारले नै अस्पतालसम्म पुर्याइदिनुपर्ने प्रावधान भएकाले कमजोर आर्थिक अवस्थाका परिवारलाई यो काम चुनौतीपूर्ण हो,’ उनले भने, ‘त्यसैले राज्यले दान गरिएको शरीर ल्याइदिने व्यवस्था गरे राम्रो हुन सक्छ ।’
शिक्षण अस्पतालका अनुसार पछिल्लो पटक मृत्युपछिको शरीर अस्पताललाई दान गर्नेहरुको संख्या वृद्धि भएको छ । तर यसबारे सकारात्मक चेतनाको वृद्धि गर्न र शरीर दान गरेका व्यक्तिको मृत्युपछि शरीर अस्पतालले नै ल्याउने व्यवस्था गर्न दाताहरुको सुझाव छ ।