२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

दाङबाट रास्वपालाई लाग्यो ठुलो धक्का, एकै पटक एक सय युवाले पार्टी परित्याग गरे

दाङ, १ भदौ । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सय बढी युवाहरूले पार्टी परित्याग गरेका छन् । शनिबार रिपोटर्स क्लब दाङमा पत्रकार सम्मेलन गरी उनीहरूले पार्टी परित्याग गरेको जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा बोल्दै  पार्टीका निर्वाचन क्षेत्र नं. २ का सदस्य विजय केसीले पार्टीका सभापति रवि लामिछाने माथि लागेका विभिन्न आरोप, स्टन्ट बाजी, लगायत कुराले युवाहरूलाई भ्रममा पार्ने कार्य भइरहेको भन्दै सभापतिबाट देशको समृद्धि नहुने बताए । उनले कार्यकर्तालाई अव्यवहारिक तथा अमानवीय तरिकाले जाइलाग्न बाध्य बनाएको कारणले आफूहरूले पार्टी परित्याग गरेको समेत बताए । उनले भने,‘ हामीहरूले कुनै रहर, प्रतिशोध  र कसैको दबाबमा नभई केन्द्रीय राजनीति बुझेर नै पार्टी परित्यागको निर्णय गरेका हौँ । अब हामी जिल्लामा युवाहरूले स्वतन्त्र अभियान दाङ नामक कमिटी गठन गरेर अगाडि बढ्ने छौँ ।’  

यस्तै उनले शुरुमा आफ्ना अभिभावक, छरछिमेकी लगायतको चुनौतीका बावजुद पनि पुरानो पार्टीको विरासतलाई तोड्दै रवि लामिछाने नेतृत्व रास्वपामा लागेको स्मरण गरे । पार्टीका लागि आफूहरू दिनरात नबनी लागेको भन्दै अहिले पार्टीले आफूहरूलाई अन्याय गरेको समेत उनले आरोप लगाए । उनले पार्टी नेतृत्वले आफूहरूले दिएका सुझावलाई वेवास्ता गर्दै  पार्टी अराजक र दमनकारी शैलीमा अगाडि बढेको समेत आरोप लगाए । उनले पार्टीको लुम्बिनी प्रदेशको नेतृत्व सम्हालेका व्यक्तिले नै जिल्लालाई चलाएर जिल्लामा विभिन्न किसिमका अवैधानिक र पार्टीको नीति नियम विपरीत कारबाही गर्ने गरेको उनको भनाइ थियो । उनले पार्टीको जिम्मेवारी दिनको लागि पनि योग्यता र उसको क्षमताको नभई आफ्ना मान्छेहरूलाई जिम्मेवारी दिँदा पुरानै पार्टीको जस्तो चरित्र रास्वपाले देखाएको समेत आरोप लगाए ।  

उनले रास्वपामा पनि अन्य पार्टीको जस्तो टिके प्रथाबाट पार्टीको नेतृत्व दिँदा त्यो नयाँ र पुराना पार्टी एउटै भएको समेत बताए । यस्तै उनले  रास्वपा पार्टी क्यान्सरबाट ग्रसित भएको आफूहरूलाई महसुस भएको समेत बताए । यस्तै उनले  जसको मुख्य आशा भरोसा गरिएको थियो । त्यो पार्टी नेतृत्व नै एउटा दलदलमा फसेको भन्दै त्यस्ता ब्यक्तिहरू माथि  उठेर देशका समृद्धि गर्न नसक्ने समेत ठोकुवा गरे । यस्तै  पार्टीका तुलसीपुर नगर सभापति मेघराज केसीले पार्टीभित्र  चाप्लुसीवाद, नातावाद, धनवाद, पार्टीभन्दा पनि व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आरोप लगाउँदै आफूहरूले पार्टी परित्याग गरेको बताए । उनले भने,‘ पार्टीले जान्नेलाई छान्ने भन्ने नारा लगाएको थियो । तर, त्यो त्यो व्यवहारमा लागू गर्न सकेन् । पार्टीमा जसले राम्रोसँग काम गरेको छ त्यसलाई पार्टीले टिपेर फाल्ने गर्दा त्यो के कारणले फालेको हो  ? भन्ने समेत बुझाउन सकेन् । जोसँग पैसा छ, चिल्ला गाडी छन् , त्यस्ता व्यक्तिहरुलाई पार्टी प्रवेश गराइन्छ । वडाको सदस्य समेत बनाउन नसक्ने व्यक्तिलाई क्षेत्र, जिल्ला, प्रदेशमा जिम्मेवारी दिइन्छ ।’

जसले पार्टीको लागि दिनरात मेहनत गरेको छ, त्यस्ता मान्छेहरुले अवसर पाउने अवस्था छैन, नातावाद चाप्लुसीवादले मात्र अवसर पाउँदा आफूहरूले पार्टी छोड्न बाध्य भएको उनको भनाइ थियो । यस्तै उनले ब्यक्तिका कारण नै आफूह युवाहरु पार्टी छाड्न बाध्य भएको समेत बताए । उनले भने,‘ यहाँ  पार्टी, समाज भन्दा एउटा व्यक्ति ठूलो भयो । जसका कारणले आज हामीले पार्टी त्याग्न बाध्य भएका हौँ । ’ निर्वाचन क्षेत्र नंं ३ का पूर्व उम्मेदवार कमल सुवेदीका कारणले आफूहरूले पार्टी छोडेको समेत उनको भनाइ थियो। सुवेदीले काठमाडौँ बसेर जिल्ला नगरमा फलानो फलानो व्यक्तिहरूलाई राख्न आदेश दिएपछि आफूले पार्टीको निति नियम र पद्धति अनुसार चल्ने भनेपछि त्यही कारणबाट जिल्लामा विवाद भएको उनले बताए ।

 यस्तै उनले पार्टीमा गल्ती गर्नेलाई कारबाही गर्दा आफूहरूको त्यसमा कुनै विमति नभएको भन्दै एउटा व्यक्तिले कसैलाई टिके प्रथा र चाप्लुसीका कारण अगाडि बढाउनु खोज्ने कुरामा विमति गर्दा पार्टीले आफूलाई कारबाही गरेको समेत बताए । यस्तै उनले पार्टी सभापति रवि लामिछानेले आफूसँग दायाँबायाँ रहने व्यक्तिहरूलाई जबसम्म फिल्टर गर्न सकिँदैन्,  तबसम्म पार्टी राम्रो नबन्ने समेत दाबी गरे । उनले  भने,‘ तपाईँले जिम्मेवारी दिएका व्यक्तिहरु कस्ता छन्, त्यो  एकपटक आफै हेर्नुहोस् । हामी अब साँच्चिकै नागरिकहरू स्वतन्त्र हुनुपर्छ भन्ने अभियानलाई अगाडि बढाउँछौँ । यदि तपाईँले सही गर्नुभएको छ, भने हामी तपाईँलाई समर्थन गर्नेछौँ । तर यही तरिकाले जानुभयो भने तपाईँ जीवनमा अगाडि बढ्न सक्नुहुन्न । ’  उक्त कार्यक्रममा नगरपूर्व सभापति रहेका चित्रकुमार स्वर्णकार, भूपबहादुर भण्डारी, लक्ष्मीप्रिया प्रसाद आचार्य लगायतले बोलेका थिए । 

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस